भारतको सहयोगमा मोरङमा विद्यालयको नयाँ भवन निर्माण, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

मोरङ । भारत सरकारको सहयोगमा सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ।

नवनिर्मित भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

भारतीय दूतावासका अनुसार विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो। नयाँ भवनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्नुका साथै विद्यार्थी तथा शिक्षकलाई सहज सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले बताए।

दूतावासका अनुसार भारत सरकारले उक्त परियोजनामार्फत नेपालका सातै प्रदेश र ७४ जिल्लामा हालसम्म ६०५ वटा परियोजना सञ्चालन गरिसकेको छ। कोशी प्रदेशमा मात्रै १०३ वटा र मोरङ जिल्लामा १७ वटा परियोजना कार्यान्वयनमा रहेका छन्।

त्यस्तै, भारत सरकारले कोशी प्रदेशलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपलब्ध गराएको छ। जसमध्ये मोरङ जिल्लाले मात्रै २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस प्राप्त गरेको दूतावासले जनाएको छ।

शिक्षा, स्वास्थ्यलगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माणमार्फत स्थानीय विकास र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिएको भारतीय दूतावासले जनाएको छ।