
अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा हालै सञ्चालनमा आएको एक विशेष बाल मुटु अस्पतालले मुलुकभरका जन्मजात मुटुरोगबाट पीडित बालबालिकाका लागि जीवनदानको नयाँ ढोका खोलेको छ । चरम स्वास्थ्य सेवा अभाव र आर्थिक संकटबाट गुज्रिरहेको अफगानिस्तानमा यो अस्पताल गरिब परिवारका लागि आशाको केन्द्र बनेको छ । अफगान रेड क्रेसन्ट सोसाइटीको सहयोगमा स्थापना गरिएको ५० शैय्याको यो अस्पतालले विशेषगरी जन्मजात मुटुमा प्वाल पर्ने लगायतका जटिल समस्या भएका बालबालिकाको निःशुल्क निदान र शल्यक्रिया सेवा दिइरहेको छ ।
निजी अस्पतालमा उपचार गराउन लाखौं खर्च लाग्ने भएपछि निराश भएका परिवारका लागि यो अस्पतालले निःशुल्क सेवा दिएर ठूलो राहत दिएको छ । जोजान प्रान्तबाट करिव ३९० किलोमिटरको यात्रा तय गरेर आएका मोहम्मद हसन आफ्नो तीन वर्षीया छोरीको उपचारका लागि अस्पताल पुगेका छन् ।


दैनिक ज्यालादारी गर्ने हसनका लागि निजी अस्पतालले मागेको ३ लाख अफगानी मुद्रा (करिव ४,५५० डलर) जुटाउनु असम्भव थियो। उनले यसअघि उपचार अभावमा आफ्नी दुई महिनाकी छोरी गुमाइसकेका छन्, त्यसैले यो अस्पताल उनका लागि जीवन र मरणको सवाल बनेको छ।्ल्लअस्पतालका प्रमुख डा. अब्दुल वली अतमन्जाईकाअनुसार सञ्चालनमा आएको दुई महिनाको अवधिमा हालसम्म १५४ बालबालिकाको सफल शल्यक्रिया भइसकेको छ । दैनिक ४ देखि ८ वटासम्म शल्यक्रिया हुने यो अस्पतालमा प्रतिदिन २० देखि ३० नयाँ बिरामी दर्ता हुने गरेका छन् ।

अस्पतालले जाँच, औषधी र शल्यक्रियालगायतका सम्पूर्ण सेवा पूर्णतः निःशुल्क प्रदान गर्दै आएको छ । डा. अतमन्जाईका अनुसार अफगानिस्तानभर करिव १ लाखभन्दा बढी बालबालिका मुटुरोगबाट प्रभावित रहेको अनुमान छ । समयमै उपचार नपाउँदा २० देखि २५ प्रतिशत बालबालिकाको ज्यान जोखिममा पर्ने गरेको उनले औंल्याए । अस्पतालको यो पहलले बालबालिकाको अनुहारमा मुस्कान फर्काउनुका साथै आर्थिक बोझले थिचिएका परिवारका लागि नयाँ भविष्यको ढोका खोलेको छ ।




