सामसुङको नाफा ८० अर्ब डलर पुग्ने अनुमान

काठमाडौं । कृत्रिम बौद्धिकता प्रयोग हुने तथ्यांक केन्द्रमा आवश्यक स्मृति चिपको माग तीव्र रूपमा बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले त्रैमासिक नाफामा ठूलो वृद्धि हुने अनुमान गरेको छ ।

कम्पनीका अनुसार सेप्टेम्बरमा समाप्त भएको तीन महिनामा सञ्चालन नाफा करिब १ खर्ब ७ अर्ब ४ करोड वन पुग्ने अनुमान गरिएको छ । यो रकम करिब ८० अर्ब अमेरिकी डलर बराबर हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नाफा करिब नौ गुणा बढी हो ।

सामसुङको यो लगातार चौथो त्रैमासिक कीर्तिमानी आम्दानी हुने अनुमान गरिएको छ । कम्पनीले तेस्रो त्रैमासिकको पूर्ण वित्तीय विवरण अक्टोबरको अन्त्यमा सार्वजनिक गर्नेछ ।

सामसुङ विश्वका प्रमुख स्मृति चिप उत्पादकमध्ये एक हो । दक्षिण कोरियाकै एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोनसँगै सामसुङले कृत्रिम बौद्धिकतासम्बन्धी काम गर्ने कम्पनीका लागि आवश्यक चिप उत्पादन गर्दै आएको छ । यस्ता चिप कृत्रिम बौद्धिकताका लागि प्रयोग हुने तथ्यांक केन्द्रमा महत्वपूर्ण मानिन्छन् ।

कृत्रिम बौद्धिकता विकासका लागि आवश्यक कम्प्युटर चिपको विश्वव्यापी माग पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ । माग बढेसँगै सेमिकन्डक्टरको अभावसमेत देखिएको छ, जसले चिप उत्पादक कम्पनीको बिक्री र आम्दानी बढाउन सहयोग गरेको छ ।

सामसुङको सेयर मूल्यमा समेत यसको प्रभाव परेको छ । यसै वर्ष कम्पनीको बजार मूल्य १ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो ।

कृत्रिम बौद्धिकतामा विश्वव्यापी लगानी बढिरहेका कारण चिपको माग अझै बढ्ने अपेक्षा गरिएको छ । गुगल, अमेजन र मेटालगायत अमेरिकी प्रविधि कम्पनीहरूले यस वर्ष कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा ६ खर्ब ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

दक्षिण कोरियाले पनि चिप उत्पादन क्षमता विस्तार गर्न ठूलो लगानीको योजना अघि सारेको छ । जुनमा सार्वजनिक गरिएको योजनाअनुसार सामसुङ र एसके हाइनिक्सको नेतृत्वमा आगामी वर्षहरूमा कम्तीमा ८ खर्ब ८० अर्ब डलर बराबरका परियोजना सञ्चालन गर्ने योजना छ ।

कृत्रिम बौद्धिकताको माग बढेपछि जापान, चीन र ताइवानका कम्पनीहरूले पनि चिप उत्पादन केन्द्र विस्तारमा ठूलो लगानी गरिरहेका छन् । चिपको माग बढेर आपूर्ति अभाव भएपछि सामसुङलगायतका कम्पनीले मूल्य बढाएका छन् । यसको असर स्मार्टफोन र कम्प्युटरजस्ता विद्युतीय सामग्रीको मूल्यमा समेत पर्न थालेको छ ।

images

सामसुङले अगस्टमा सार्वजनिक गरेका नयाँ तह खुल्ने मोबाइल उपकरणबाट समेत पछिल्लो त्रैमासिक आम्दानीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।