
काठमाडौं, २६ असोज । चलचित्र ‘गौंथली’ का निर्देशक कपिल रिजाल ‘रेड मुभी अवार्ड’ बाट सम्मानित भएका छन् ।
फ्रान्समा जारी ‘रेड मुभी अवार्ड २०२६’ मा रिजाललाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड दिइएको हो । रिजालले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत अवार्डबारे जानकारी गराएका छन् ।

‘यो पुरस्कार मेरो एक्लो होइन, सम्पूर्ण गौँथली परिवारको साझा उपलब्धि हो। पर्दामा पात्रहरूलाई जीवन्त बनाउने हाम्रा उत्कृष्ट कलाकारहरू, पर्दापछाडि अथक मिहिनेत गर्ने प्राविधिक टोली, र पहिलो दिनदेखि नै यो कथामा विश्वास राख्ने बीआर प्रोडोक्सन परिवार, तपाईंहरू सबैको योगदानले नै यो सपना साकार भएको हो।


हरेक कदममा माया, साथ र हौसला दिनुहुने आदरणीय पत्रकार, इष्टमित्र तथा चलचित्रप्रेमीहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु,’ रिजालले लेखेका छन् ।
‘गौथली’ नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनेको छ । चलचित्रले आइतबारसम्म २६ करोड रुपैयाँ आम्दानी गरेको छ । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय रहेको छ ।





