
जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदुतमा प्रश्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र दुई देशबीचको आर्थिक कुटनीतिलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले व्यापार घाटा न्युनिकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने आफ्नो मुख्य कार्ययोजना प्रश्तुत गर्नुभएको हो । प्रश्तावित राजदुत शर्माले अवरुद्ध तातोपानी नाका सुचारु गर्न तत्काल कुटनीतिक संवाद आवश्यक रहेको र कोरला नाकाको क्षमता अभिवृद्धि गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनु भयो । उहाँले नेपाल–चीन सीमा क्षेत्रका विकट भू–बनोटले सिर्जना गरेका समस्या समाधान गर्दै व्यापारिक ढुवानी सहज बनाउन आफूले सरकारको नीतिबमोजिम सक्दो प्रयास गर्ने उल्लेख गर्नुभयो । पर्यटन प्रवद्र्धनका सन्दर्भमा उहाँले चीनको आफ्नै डिजिटल इकोसिस्टमअनुसार प्रचार शैली परिवर्तन गर्नुपर्ने खाँचो औंल्याउनु भयो । आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्नुभएका शर्माले चिनियाँ लगानीकर्ताहरूलाई नेपालका कृषि, डेरी र मासुजन्य उत्पादनको प्रशोधनमा आकर्षित गर्न सकिने सम्भावना औंल्याउनु भयो ।


उहाँले भन्नुभयो, ‘चीनमा अहिले लगानी विस्तार भइरहेको छ, नेपालले आफ्नो आवश्यकता र डिमान्डअनुसारको वातावरण बनाउन सके चिनियाँ लगानी भित्र्याउन उन सकिन्छ, जसले व्यापार घाटा कम गर्न मद्दत गर्नेछ । फेसबुक, इन्स्टाग्राम नचल्ने चीनमा उनीहरूकै सोसियल मिडिया र प्लेटफर्ममार्फत नेपालको धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको बजारीकरण गर्नुपर्छ ।’

छलफलका क्रममा मेडिकल शिक्षा र सेवाको मुद्दा पनि उठेको थियो । नेपाल मेडिकल काउन्सिलको पछिल्लो परीक्षामा चीनबाट पढेर आएका विद्यार्थीको नतिजा कमजोर देखिएको सन्दर्भमा सांसदहरूले चासो व्यक्त गरेका थिए । जवाफमा प्रश्तावित राजदुत शर्माले चीनको आधुनिक चिकित्सा प्रविधि र रोबोटिक्स सर्जरीमा भएको विकासबाट नेपालले लाभ लिन सक्ने र दुई सरकारबीचको सहकार्यबाट मेडिकल हब बन्ने आधार रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल, चीन र भारतले संयुक्त रूपमा ’अर्ली वार्निङ सिस्टम’ स्थापना गर्नुपर्नेमा जोड दिनु भयो ।




