
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा र लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ। अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।


आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

#मौसमपूर्वानुमान #नेपालकोमौसम #ArghakhanchiCom




