उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने दुई क्षेप्यास्त्र परीक्षण गरेको दाबी

काठमाडौं, ३० असोज। उत्तर कोरियाले आफ्नो पूर्वी तट नजिकको समुद्रमा पनडुब्बीबाट प्रहार गरिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलहरूको परीक्षण गरेको छ ।

उत्तर काेरियाकाे सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार उक्त परीक्षणको उद्देश्य युद्ध प्रतिरोध क्षमताको विश्वसनीयता जाँच्नु र रणनीतिक मिसनहरू सञ्चालन गर्ने नौसेनाको दक्षतामा सुधार गर्नु रहेको छ। केसीएनएका अनुसार प्रहार गरिएका मिसाइलहरूमध्ये एउटा ‘पुलह्वासल-३-३१’ थियो। उत्तर कोरियाले गत हप्ता जमिनबाट परीक्षण गरेको भनिएको रणनीतिक क्रुज मिसाइल पनि यही प्रकारको थियो।

देशको पूर्वी तट नजिकैको समुद्रमा गरिएको उक्त परीक्षणको अवलोकन वरिष्ठ सैन्य अधिकारीहरूले गरेका थिए। केसीएनएले थप जानकारी दिँदै यी परीक्षणहरूले छिमेकी राष्ट्रहरूको सुरक्षामा कुनै प्रतिकूल असर नपारेको बताएको छ।

उत्तर कोरियाले हालसम्म आधुनिक मिसाइल पनडुब्बी पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेको मानिँदैन। यो त्यहाँका नेता किम जोङ उनकी सर्वोच्च सैन्य प्राथमिकतामा परेको विषय हो; उनकै प्रत्यक्ष निगरानीमा विभिन्न रणनीतिक ब्यालिस्टिक र क्रुज मिसाइलहरूको विकास गरिएको छ।

गत वर्ष आफ्नै देशको पनडुब्बी निर्माण केन्द्रको निरीक्षण गर्ने क्रममा नेता किमले अमेरिका र दक्षिण कोरियाबीच भएको आणविक पनडुब्बी सम्झौताको आलोचना गरेका थिए। सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिरहरूमा करिब ८,७०० टन तौल भएको आणविक शक्तिबाट चल्ने मिसाइल पनडुब्बी निर्माण भइरहेको देखिन्थ्यो। केसीएनएका अनुसार निरीक्षणका क्रममा उनले सो सम्झौतालाई कोरियाली प्रायद्वीपको स्थिरताका लागि खतराको रूपमा टिप्पणी गरेका थिए।

प्योङयाङले हालैका हप्ताहरूमा लगातार धेरै क्षेप्यास्त्रहरू (मिसाइलहरू) प्रहार गरेको छ। यसै हप्ताको सुरुमा उत्तर कोरियाले आफ्नो पूर्वी तट नजिकैको समुद्रतर्फ धेरै ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गर्‍यो। सोल र प्योङयाङबीच तनाव बढिरहेका बेला भएका यी परीक्षणहरू शृङ्खलाबद्ध परीक्षणहरूको एक हिस्सा हुन्।

गत अक्टोबर ३ मा उत्तर कोरियाले दक्षिण कोरिया र जापानको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने गरी डिजाइन गरिएको ‘हाइपरसोनिक’ (अत्यधिक तीव्र गतिको) मध्यम-दूरीको क्षेप्यास्त्रको पनि परीक्षण गर्‍यो। ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारपछि सोलस्थित ‘संयुक्त सेना प्रमुखहरूको कार्यालय’का प्रवक्ता जाङ डो-योङले दक्षिण कोरियाले आफ्नै हाइपरसोनिक हतियार परीक्षण गरेको केही दिनमै यो घटना भएकाले यो कदम शक्ति प्रदर्शनजस्तो देखिने बताएका छन्।

गत हप्ता दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङले देशको पहिलो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। दक्षिण कोरियाली राष्ट्रपतिको उपस्थितिमा गरिएको यस्तो क्षेप्यास्त्र परीक्षण सार्वजनिक रूपमा देखिनु निकै दुर्लभ घटना हो। राष्ट्रपति लीको कार्यालयले जनाए अनुसार पूर्ण रूपमा विकास भइसकेपछि यो हाइपरसोनिक हतियारले ‘कोरियाली प्रायद्वीपको कार्यक्षेत्र’ भित्र महत्त्वपूर्ण लक्ष्यहरूमा अचानक प्रहार गर्ने दक्षिण कोरियाको क्षमतालाई अभिवृद्धि गर्नेछ।

images

सेप्टेम्बर महिनामा दुई देशबीचको ‘सैन्य-मुक्त क्षेत्र’ मा भएको एउटा बारुदी सुरुङ विस्फोटमा तीन सैनिक घाइते भएपछि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप बिग्रिएको छ। सोलले यस घटनाका लागि उत्तर कोरियालाई दोष दिएको छ। दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घको संयुक्त अनुसन्धानले गत महिना ‘सैन्य-मुक्त क्षेत्र’ मा विस्फोट भएका दुईवटा बारुदी सुरुङहरू करिब एक वर्षअघि उत्तर कोरियाली सेनाले नै राखेका थिए भन्ने निष्कर्ष निकालेको छ। यसपछि सोलले उत्तर कोरियासँग औपचारिक माफीको माग गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले २०२३ मा सुरु गरेको ‘शत्रुतापूर्ण राज्य’ नीतिअन्तर्गत प्योङयाङले  ‘सैन्य-मुक्त क्षेत्र’ क्षेत्रमा सैन्य सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको छ। यस नीतिको मुख्य उद्देश्य दक्षिण कोरियासँगको सम्बन्ध सधैँका लागि तोड्नु हो।

images

सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको पहिलो कार्यकालका बेला वासिङ्टन र प्योङयाङबीचको निशस्त्रीकरण वार्ता असफल भएयता कोरियाली प्रायद्वीपमा कूटनीतिक प्रयासहरू ठप्प छन्। यद्यपि, ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा किम जोङ उनसँग भेटघाट गर्ने सम्भावनाबारे चर्चा गरे पनि अहिलेसम्म त्यस्तो कुनै भेटघाट भएको छैन।