फ्रान्सका विभिन्न सहरमा कर्फ्यु, दङ्गामा २ हजार ५०० भन्दा बढी पक्राउ

काठमाडौँ । फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्थालाई लिएर भएका प्रदर्शन हिंसात्मक बनेपछि पेरिससहित विभिन्न सहरमा रात्रीकालीन कर्फ्यु लगाइएको छ ।

पेरिसको प्लास द ला रिपुब्लिक र लेस आल क्षेत्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। मार्से, बोर्डो, निस र लियोनसहितका सहरमा पनि आंशिक कर्फ्यु लगाइएको छ ।

प्रदर्शनका क्रममा २ हजार ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने करिब १ हजार सुरक्षाकर्मी घाइते भएका छन् । दङ्गाका क्रममा पसल, सवारीसाधन र भवनमा आगजनी तथा लुटपाट भएको छ ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाट त्यसको खर्च असुल्ने बताएका छन् ।

फ्रान्सका वाणिज्य तथा उद्योगसम्बन्धी संस्थाका अनुसार हिंसाका कारण २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रभावित भएका छन् । क्षतिको रकम करोडौँ युरो पुग्न सक्ने अनुमान गरिएको छ ।