
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत ती महिलाको उद्धार गरिएको हो । जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हवाई साधनमार्फत उनलाई सुर्खेत लगिएको हो ।


दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याई सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भौगोलिक विकटता, स्वास्थ्य संस्थामा उपलब्ध सीमित सेवा तथा उपचारमा हुने ढिलाइका कारण जोखिममा पर्न सक्ने महिलाका लागि यो कार्यक्रम जीवनरक्षाको महत्वपूर्ण माध्यम बन्दै आएको छ ।
मन्त्रालयले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न सम्बन्धित निकायसँगको समन्वयमा हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





