
काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र शक्तिशाली बन्दै चक्रवातमा परिणत हुन सक्ने सम्भावना देखिएपछि नेपालको मौसमसमेत प्रभावित हुन सक्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न क्षेत्रमा यसको प्रभाव पर्न सक्ने सम्भावना छ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको पोस्ट मनसुन विशेष मौसम बुलेटिनअनुसार शुक्रबार बिहान ५ः४५ बजे बंगालको खाडीको पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी क्षेत्रमा न्यूनचापीय प्रणाली विकसित भएको हो।


उक्त प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गतेसम्म चक्रवातमा परिणत हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने महाशाखाले जनाएको छ।

नेपालमा कस्तो असर पर्ला?
सम्भावित चक्रवातका कारण कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसममा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। तर नेपालमा कति वर्षा हुन्छ, कुन क्षेत्रमा बढी असर पर्छ र जोखिमको अवस्था कस्तो रहन्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ।

कृषि र पर्यटन क्षेत्रमा सतर्कता आवश्यक
मौसममा सम्भावित परिवर्तनले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय, किसान, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन महाशाखाले आग्रह गरेको छ।

चक्रवातको सम्भावना देखिए पनि नेपालमा पर्ने प्रभावको वास्तविक अवस्था आगामी मौसम प्रणालीको दिशा, गति र तीव्रतामा निर्भर रहनेछ। त्यसैले पछिल्लो मौसम पूर्वानुमान तथा आधिकारिक बुलेटिनका आधारमा आवश्यक तयारी गर्नुपर्ने देखिन्छ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पोस्ट मनसुन विशेष मौसम बुलेटिन।
#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD




