दक्षिणी जोर्डनको चर्चमा अन्त्येष्टिका क्रममा गोली प्रहार, ७ जनाको मृत्यु, ३४ घाइते

जोर्डनको दक्षिणी प्रान्त काराकस्थित एक चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोली प्रहारमा परी सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार शुक्रवार भएको उक्त घटनामा हतियारधारी व्यक्तिहरूले चर्चभित्र गोली चलाएका थिए ।

निर्देशनालयका प्रवक्ताले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको जानकारी दिँदै घटनाबारे गहन अनुसन्धान भइरहेको बताएका छन् । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले सामाजिक सञ्जाल एक्समार्फत घटनालाई ‘आतंकवादी आक्रमण’ को संज्ञा दिएका छन् । उनले यस घटनामा संलग्नलाई कडा जवाफ दिइने बताएका छन् ।

सरकारका सञ्चारमन्त्री मोहम्मद अल–मोमानीले पनि एक्समार्फत प्रधानमन्त्री जाफर हसनले घटनापछिको सरकारी प्रतिक्रिया तथा आवश्यक कदमको अनुगमन गर्न काराकमा बैठकको अध्यक्षता गर्ने जानकारी दिएका छन् । उनले घटनालाई जघन्य आतंकवादी अपराधको संज्ञा दिँदै सम्बन्धित निकायले आवश्यक कारबाही अघि बढाउने बताएका छन् ।