
अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो) मा तिब्र गतिमा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि शुक्रवारदेखि वृहत क्लिनिकल परीक्षण शुरु गरिएको छ । इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको यस दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ ।
इबोला भाइरसको इतिहासमै सबैभन्दा घातक रूप लिएको पछिल्लो महामारीबाट कङ्गोमा हालसम्म चार हजार छ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको पूर्वी कङ्गोको इतुरी प्रान्तको राजधानी बूनियामा पहिलो सहभागीलाई खोप दिएर यो ऐतिहासिक परीक्षणको औपचारिक थालनी गरिएको हो । यो अनुसन्धानलाई ‘कोएलिशन फर एपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स’ (सिइपिआई) ले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ ।


हालसम्म बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसविरुद्ध कुनै पनि आधिकारिक खोप प्रमाणित भइसकेको छैन । यस परीक्षणको मुख्य उद्देश्य खोपको सुरक्षा, यसले शरीरमा विकास गर्ने प्रतिरोधात्मक क्षमता र सङ्क्रमण रोकथाममा पु¥याउने प्रभावकारिताको मूल्याङ्कन गर्नु रहेको छ । विशेषगरी सङ्क्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका र उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरी ‘रिङ भ्याक्सिनेसन’ पद्धतिमार्फत यो परीक्षण अघि बढाइएको हो । परीक्षणको प्रारम्भिक चरणमा ‘एर्भेबो’ खोप प्रयोग गरिएको छ । यो खोप पहिले नै जायर इबोला भाइरसविरुद्ध स्वीकृत भएपनि बुन्डिबुग्यो प्रजातिका लागि यसको प्रभावकारिता प्रमाणित हुन बाँकी छ । यसका अतिरिक्त अमेरिकी कम्पनी मोडेर्ना तथा अक्सफोर्ड विश्वविद्यालय र सिरम इन्स्टिच्युट अफ इन्डियाले संयुक्त रूपमा विकास गरेका अन्य दुई खोपहरू पनि छिट्टै यस परीक्षणमा समावेश गरिँदैछ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले यस पहलको स्वागत गर्दै परीक्षणबाट प्राप्त हुने प्रमाणले जारी महामारी नियन्त्रण गर्न र भविष्यमा आउन सक्ने महामारीको पूर्वतयारीमा ठूलो टेवा पुग्ने बताउनुभएको छ । कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २० सम्ममा ९,७०४ जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये ४,६८७ जनाको मृत्यु भएको छ । यहाँ मृत्युदर ४८.३ प्रतिशत पुगेको छ । गत मे १५ मा कङ्गोमा शुरु भएको यस महामारीलाई डब्लुएचओले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको विपत्तिपछि यो विश्वकै दोस्रो ठूलो र कङ्गोको इतिहासकै सबैभन्दा घातक इबोला प्रकोप हो ।




