पुष्प व्यवसायको बजार सुनिश्चित गर्न तीन वटै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री आले मगर

वागमती प्रदेश सरकारकी कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्री रमा आले मगरले पुष्प व्यवसायको दिगोपनका लागि उत्पादनसँगै बजार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवार राजधानीमा आयोजित १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा बोल्दै उहाँले पुष्प उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्न आधुनिक पुष्प बजार निर्माण तथा डिजिटल मार्केटिङ र अनलाइन विक्रीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री आले मगरले निर्यातको सम्भावना भएका फूलको पहिचान, खेती प्रविधिको विकास, गुणस्तर मापदण्ड निर्धारण तथा निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउनु भयो । साथै, देशभरका पुष्प व्यवसायी, उत्पादन क्षेत्र र बजारसम्बन्धी तथ्यांकलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न संवद्ध निकायले अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ ।

पुष्प व्यवसायको क्षमता अभिवृद्धिका लागि नर्सरी व्यवस्थापन, कट फ्लावर उत्पादन, फ्लोरल डिजाइन, डिजिटल मार्केटिङ र ई–कमर्ससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने मन्त्री आलेले बताउनु भयो । उहाँकाअनुसार महिला तथा युवा उद्यमीलाई प्राथमिकता दिँदै पुष्प व्यवसायमा लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ ।  पुष्प व्यवसायीलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने, पुष्प उत्पादन तथा व्यवसायलाई कृषि क्षेत्रअन्तर्गतका सेवा, सुविधा र प्रोत्साहनमा समेट्ने तथा पुष्प बालीको बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘कृषि व्यवसायको दिगोपनका लागि उत्पादन मात्र पर्याप्त हुँदैन । बजार पनि सुनिश्चित हुनुपर्छ । उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष एवं स्वस्थ सम्बन्ध विकास गर्न आधुनिक पुष्प बजार निर्माण गर्न र डिजिटल मार्केटिङ तथा अनलाइन बिक्रीलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय निकायबीच समन्वय आवश्यक छ । अर्थात, निर्यात सम्भावना भएका फूलको पहिचान, खेती प्रविधि विकास, गुणस्तर मापदण्ड र निर्यात प्रक्रियामा व्यवसायीलाई सहजीकरण गर्नुपर्दछ । यसका लागि विश्वसनीय तथ्याङ्क र सूचना प्रणाली पनि उत्तिकै जरुरी छ । देशभरका पुष्प व्यवसायी, उत्पादन, क्षेत्र र बजारसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्रणालीमा व्यवस्थित गर्न सम्बद्ध निकायले अग्रसरता लिन जरुरी छ । व्यवसायको क्षमता अभिवृद्धिका लागि नर्सरी व्यवस्थापन, कट फ्लावर उत्पादन, फ्लोरा फ्लावर, डिजाइन, डिजिटल मार्केटिङ र ई–कमर्स जस्ता तालिम सञ्चालन गर्नुपर्दछ । महिला तथा युवा उद्यमीलाई विशेष प्राथमिकता दिनुपर्छ । साथै बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्धता गराउन, पुष्प उत्पादन र व्यवसायलाई कृषि क्षेत्रअन्तर्गतका सेवा, सुविधा तथा प्रोत्साहनमा समेट्न र पुष्प बालीको बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । लगानीमैत्री वातावरण तयारी साथै प्राकृतिक विपद्बाट क्षति हुँदा व्यवसायीलाई राहत दिने व्यवस्थाका लागि सङ्घीय सरकारबाट आवश्यक नीतिगत व्यवस्था हुन आवश्यक छ भने वागमती प्रदेश सरकार यसमा पुष्प व्यवसायीहरूसँग काँधमा काँध, हातमा हात मिलाएर अगाडि बढ्न हरदम तयार रहेको छ ।’

प्राकृतिक विपद्बाट क्षति व्यहोरेका पुष्प व्यवसायीलाई राहत उपलब्ध गराउने व्यवस्था गर्न संघीय सरकारले आवश्यक नीतिगत प्रवन्ध गर्नुपर्ने बताउँदै मन्त्री आले मगरले पुष्प व्यवसायको प्रवद्र्धनका लागि बागमती प्रदेश सरकार व्यवसायीहरूसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।