
मुम्बई, १३ कार्तिक। बलिउड अभिनेत्री सारा अली खान केदारनाथ मन्दिरको भ्रमणका कारण पुनः चर्चामा आएकी छिन्।
अल इन्डिया मुस्लिम जमात’ का राष्ट्रिय अध्यक्ष मौलाना शहाबुद्दिन रज्भीले उनले मन्दिरमा प्रार्थना गरेको विषयमा आपत्ति जनाएका हुन्। उनले साराको केदारनाथ भ्रमण साथै हिन्दू मन्दिर र देवी-देवताहरूप्रतिको उनको झुकावलाई इस्लामिक मान्यताविपरीत भएको बताएका छन् र उनले माफी माग्नुपर्ने माग गरेका छन्। यस भनाइले गर्दा यो विषय सार्वजनिक चर्चाको केन्द्र बनेको छ।

मौलाना शहाबुद्दीन रज्भीका अनुसार इस्लाममा मूर्तिपूजा गर्न अनुमति छैन। उनले सारा अली खानले मन्दिरमा गएर प्रार्थना गरेको कार्यमाथि प्रश्न उठाउँदै यसलाई धार्मिक मान्यताहरूको उल्लङ्घन भनेका छन्। उनले ती अभिनेत्रीलाई आफ्नो कार्यका लागि पश्चत्ताप गर्न र अल्लाहसँग क्षमा माग्न आग्रह गरेका छन्।


“कुनै पनि मुस्लिमले, चाहे उनीहरू सेलिब्रेटी नै किन नहून्, धार्मिक सीमाहरू नाघ्नु हुँदैन। ‘शरिया-ए-इस्लामिया’ (इस्लामी कानुन) ले आफ्ना अनुयायीहरूलाई ‘शर्क’ अर्थात् अल्लाहसँग अरू कसैलाई साझेदार वा सरिक ठान्ने कार्य गर्न अनुमति दिँदैन,” उनले भनेका छन ।
यो भनाइ बाहिरिएसँगै यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू देखा परेका छन्। मौलानाको धार्मिक व्याख्या र साराको मन्दिर भ्रमणका सन्दर्भमा मानिसहरूको धारणा फरक-फरक रहेको छ।


सारा अली खानको केदारनाथ तीर्थस्थलसँग विशेष सम्बन्ध छ। उनी धेरै पटक यस मन्दिरमा पुगिसकेकी छिन्। केदारनाथको उनको यात्राका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा बेलाबेलामा देखिने गर्छन्, जसमा उनलाई अन्य भक्तजन झैँ प्रार्थना गरिरहेको देख्न सकिन्छ।

सारा अली खानले सन् २०१८ मा ‘केदारनाथ’ चलचित्रमार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। केदारनाथ धामको पृष्ठभूमिमा आधारित यस चलचित्रमा उनीसँगै दिवंगत अभिनेता सुशान्त सिंह राजपूतले अभिनय गरेका थिए। त्यसयता साराले केदारनाथ धामको भ्रमण गर्ने गरेको विषयमा बेलाबेलामा चर्चा हुने गरेको छ।




