अचानक बढेको चिसो र पहिरोको उच्च जोखिम हुने

काठमाडौं, कार्तिक १३ । बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण आगामी कार्तिक १४ गते (शनिबार) सम्म देशका अधिकांश स्थानमा मौसम बदली रही मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभाव अपराह्नदेखि भने क्रमिक रूपमा कम हुँदै जानेछ।

भारी वर्षा र हिमपात: कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि भारी वर्षा र हिमपात हुन सक्नेछ।

कृषि तथा बाली संरक्षण: पाकेको धानबाली भित्र्याउने लगायतका महत्वपूर्ण कृषि कार्यहरू वर्षा सुरु हुनुअघि नै सम्पन्न गर्न कृषकहरूलाई अनुरोध गरिएको छ।

पर्वतारोहण तथा पर्यटन क्षेत्र: उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी (ब्लिजार्ड) तथा हिमपहिरोको उच्च जोखिम रहेको छ। तसर्थ, अर्को सूचना नभएसम्म पर्यटकहरूलाई उच्च हिमाली भू–भागमा नजान र यदि गएका भए सुरक्षित स्थानमा रहन सचेत गराइएको छ।

दैनिक जनजीवन र यातायातमा प्रभावः अचानक बढेको चिसोपनका साथै जोखिमयुक्त स्थान तथा सडक छेउछाउ पहिरो जाने सम्भावना रहेको छ। यसले सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई मौसम पूर्वानुमान महाशाखाले विशेष अनुरोध गरेको छ।