काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आम सञ्चारमाध्यम, प्रेस स्वतन्त्रता र पत्रकारमाथि सरकारको व्यवहारप्रति कडा आपत्ति जनाउनुभएको छ। समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने घटनाले सरकारको कार्यशैली र प्रेसप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ।
सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै थापाले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको भूमिकामाथि प्रश्न उठाउनुभयो। प्रधानमन्त्रीको सचिवालयबाट २८ जना पत्रकारको सूची तयार गरी प्रहरीलाई पठाइएको विषय सार्वजनिक हुनुले घटनालाई थप गम्भीर बनाएको उहाँले बताउनुभयो।
पत्रकार पक्राउ परेपछि रिहा हुँदैमा घटना टुंगिन नसक्ने उल्लेख गर्दै थापाले यो प्रकरणलाई लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा हेर्नुपर्ने बताउनुभयो। उहाँले राज्यका निकायलाई कुनै व्यक्ति वा सरकारको इच्छाअनुसार सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक मूल्यविपरीत हुने धारणा राख्नुभयो।
सरकारमा रहेकाहरूले आफू नै राज्य भएको र आफ्नो इच्छा नै कानुन भएको भ्रम पाल्न नहुने चेतावनी दिँदै थापाले भन्नुभयो, “हामी नै राज्य हौँ र हामीले बोलेको कुरा नै हुकुम हो भन्ने ठान्नुहुँदैन । मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ।”
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै थापाले आम सञ्चारमाध्यम र पत्रकारमाथि हुने कुनै पनि प्रकारको अनुचित हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। यस्तो प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले सशक्त प्रतिवाद गर्ने उहाँको भनाइ छ।