पोर्चुगलका समर्थकहरूलाई रोनाल्डोको भावुक पत्र

काठमाडौँ । पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने बताएका हुन् ।

४१ वर्षीय रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर ७ अब आफूले छाड्ने उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको ठूलो सम्मान भएको बताएका छन् । उनले पोर्चुगलका लागि आफूले सक्दो योगदान दिएको र देशको प्रतिनिधित्व गरेकोमा गर्व रहेको बताएका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने पुरुष खेलाडी हुन् । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप तथा सन् २०१९ र २०२५ को युईएफए नेसन्स लिगको उपाधि जितेको थियो । उनले राष्ट्रिय टोलीसँगको २३ वर्षे यात्राका लागि समर्थक र देशवासीलाई धन्यवाद दिँदै पोर्चुगल सधैँ आफ्नो मनमा रहने बताएका छन् ।

पोर्चुगलका समर्थकहरूलाई रोनाल्डोको भावुक पत्र

पोर्चुगलका प्रिय नागरिकहरू,

हामी सबैको साझा राष्ट्रिय टोलीको जर्सी र कप्तानको आर्मब्यान्ड फिर्ता गर्ने दिन आएको छ । मैले कहिल्यै पनि त्यसलाई केवल आफ्नो मात्रै ठानेको थिइनँ। तर २३ वर्षसम्म यसलाई लगाउने, यसको रक्षा गर्ने र संसारभरका रङ्गशालाहरूमा आफूसँगै लिएर हिँड्ने विशेषाधिकार र जिम्मेवारी मैले पाएको थिए ।

आज त्यो जिम्मेवारी भविष्यलाई हस्तान्तरण गर्ने समय आएको छ ।

यो सजिलो निर्णय थिएन, किनकि केही निर्णयहरू केवल दिमागले मात्रै गरिँदैनन्। ती निर्णयहरू हृदयले पनि गरिन्छन् ।

images

सन् २००३ अगस्टमा सुरु भएको र मेरो जीवनलाई सधैँका लागि परिवर्तन गरेको यात्रालाई म आज अन्त्य गर्दैछु । जब म पछाडि फर्केर राष्ट्रिय टोलीसँग बिताएका सबै क्षण सम्झिन्छु, तब मेरो आँखाअघि खेल, गोल, कीर्तिमान वा उपाधि मात्रै आउँदैनन्। मेरा आँखाअघि मानिसहरू आउँछन् । म ती आप्रवासीहरूलाई सम्झन्छु, जसले ९० मिनेटका लागि आफूलाई पोर्चुगलसँग केही नजिक महसुस गरे। म ती लाखौँ पोर्चुगाली नागरिकहरूलाई सम्झन्छु, जसलाई मैले व्यक्तिगत रूपमा कहिल्यै भेटिनँ, तर उनीहरू मेरो जीवनको हिस्सा बने ।

किनकि अन्ततः फुटबल एउटा खेलभन्दा धेरै ठूलो कुरा हो। फुटबल मानिसहरूको भावना हो । राष्ट्रिय टोलीसँगको आफ्नो सम्पूर्ण यात्रामा मैले सधैँ आफ्नो सीमाभन्दा पर पुग्ने प्रयास गरेँ। म जित्न चाहन्थेँ, उत्कृष्ट बन्न चाहन्थेँ र इतिहास रच्न चाहन्थेँ।

images

म आफैँप्रति सधैँ कठोर रहेँ। म सधैँ अझ धेरै चाहन्थेँ। हामी अझ अगाडि जान सक्छौँ भन्ने विश्वास सधैँ राखेँ र यो जर्सीका लागि मसँग भएको सबै कुरा दिएँ । त्यहाँ उत्कृष्ट दिउँसो र रातहरू थिए। मैले कहिल्यै नबिर्सने जितहरू थिए। आज पनि सम्झिँदा पीडा हुने हारहरू थिए ।

म असफल पनि भएँ। मैले दुःख पनि भोगेँ। यस्ता क्षणहरू पनि आए, जब मैले पोर्चुगाली नागरिकहरूले मबाट अत्यन्तै अपेक्षा गरेको कुरा पूरा गर्न सकिनँ। तर मैले कहिल्यै हार मानिनँ । सबैभन्दा महत्त्वपूर्ण कुरा, पोर्चुगलको प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्न मैले कहिल्यै छाडिन । यी वर्षहरूमा मैले केही अत्यन्तै सरल कुरा सिकेँ। गोलहरू आउँछन् र जान्छन्, उपाधिहरू अन्ततः सङ्ग्रहालयमा पुग्छन्, कीर्तिमानहरू पनि कुनै दिन तोडिन्छन्। तर एउटा कुरा यस्तो छ, जसलाई समयले कहिल्यै मेटाउन सक्दैन । त्यो हो, मानिसहरूको हृदयमा मैले बनाएको स्थान ।

images

यदि मैले तपाईंहरूलाई कहिल्यै खुसी बनाउन सकेँ, यदि मेरो कुनै गोलले तपाईंहरूलाई कसैलाई अँगालो हाल्न, कुनै चिन्ता बिर्सन वा आफ्नो देशप्रति गर्व महसुस गर्न प्रेरित गर्‍यो भने मेरो सम्पूर्ण प्रयास सार्थक भएको छ । किनकि पोर्चुगाली हुनुको अर्थ पनि यही हो ।

हामी सँगै दुःख भोग्छौँ। सँगै उठ्छौँ। फेरि विश्वास गर्छौँ । पोर्चुगललाई सधैँ सपना देख्ने युवा, कहिल्यै हार नमान्ने खेलाडी र आफूभन्दा अघि कसैले नपुगेको ठाउँमा पुग्न सकिन्छ भन्ने विश्वास राख्ने नयाँ पुस्ताको आवश्यकता पर्नेछ । किनकि नयाँ नायकहरू जन्माइरहने देशले आफूमाथिको विश्वास कहिल्यै गुमाउँदैन ।

राष्ट्रिय टोलीका मेरा सहयात्रीहरूलाई म एउटा विशेष सन्देश दिन चाहन्छु । हरेक दौड, हरेक अँगालो, हरेक बहस, मैदानमा प्रवेश गर्नुअघिको हरेक मौन क्षण, हामीले सँगै मनाएका हरेक जित र हामीलाई अझ बलियो बनाएका हरेक हारका लागि धन्यवाद । तपाईंहरूको कप्तान बन्ने सौभाग्य मैले पाएँ। तर कुनै पनि कप्तान एक्लै हिँड्दैन। तपाईंहरू सबै मेरो कथाको हिस्सा हुनुहुन्छ ।

यी वर्षहरूमा मसँग काम गर्ने सबै प्रशिक्षक, निर्देशक, चिकित्सक, शारीरिक उपचारक, पोसाक व्यवस्थापक, कर्मचारी र अन्य सबैलाई धन्यवाद। तपाईंहरूमध्ये धेरै जना तस्बिरहरूमा कहिल्यै देखिनुभएन, तर तपाईंहरूबिना ती कुनै पनि तस्बिर सम्भव हुने थिएनन् ।

Nepal life insurance

मेरो परिवारलाई पनि धन्यवाद। यो सपना मसँगै बाँडिदिएकोमा धन्यवाद ।

मेरो अनुपस्थिति, त्याग र राष्ट्रिय टोलीले तपाईंहरूको पनि हिस्सा रहेको समय तथा स्थान ओगट्नुपर्ने क्षणहरूलाई बुझिदिएकोमा धन्यवाद । यदि म यहाँसम्म आइपुगेँ भने त्यसको कारण हामी सधैँ हातेमालो गर्दै अघि बढ्यौँ ।

अन्त्यमा, पोर्चुगाली नागरिकहरू र संसारभर रहनुभएका हरेक पोर्चुगालीलाई म एउटा अन्तिम कुरा भन्न चाहन्छु । एउटा यस्तो दृश्य छ, जसलाई म सधैँ आफूसँगै बोकेर हिँड्नेछु । त्यो क्षण, जब राष्ट्रिय गान बज्न सुरु हुन्छ । म वरिपरि हेर्छु । आफ्ना सहयात्रीहरूलाई देख्छु। दर्शकदीर्घातर्फ हेर्छु । म त्यहाँ बालबालिका, आमा, बुबा र हजुरबा–हजुरआमाहरूलाई देख्छु। केवल त्यहाँ उपस्थित हुनकै लागि टाढा–टाढाबाट यात्रा गरेर आएका पोर्चुगाली नागरिकहरूलाई देख्छु । ती क्षणहरूमा हामी फरक रहँदैनौँ । त्यहाँ कुनै क्लब हुँदैनन्। कुनै रङ हुँदैनन्। कुनै वर्ग हुँदैनन्। कुनै पेसा हुँदैनन्। कुनै विचार हुँदैनन् । त्यहाँ केवल एउटै भावना हुन्छ—पोर्चुगल ।