
-डिआरजी सुमन, दुर्गाफाँट, अर्घाखाँची डटकम।
अर्घाखाँची । तिहारको आगमनसँगै अर्घाखाँचीको पाणिनी गाउँपालिका कार्यालय परिसर ढकमक्क फुलेका सयपत्री फूलले आकर्षक बनेको छ। कुनै समय कडा र भिरालो चट्टानी भूगोलका रूपमा रहेको कार्यालय परिसर अहिले सुन्दर फूलबारीमा रूपान्तरण भएपछि त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्ने गरेको छ।


कार्यालय परिसरलाई हरियाली र फूलले सजाउन कार्यालय सहयोगी कर्मचारीहरूले श्रमदान गर्दै आएका छन्। यस सृजनात्मक कामको योजना तथा व्यवस्थापनमा अनुभवी कार्यालय सहयोगी कर्मचारी माधवप्रसाद अर्यालको मुख्य भूमिका रहेको छ।


गुल्मीदरबारका अर्याल दैनिक बिहान ५ बजेदेखि राति ११ बजेसम्म कार्यालय परिसरको रेखदेख, बगैँचाको सरसफाइ तथा कार्यालयका नियमित काममा खटिने गरेको विवरणमा उल्लेख छ। चाडपर्वका समयमा समेत लामो बिदा नलिई कार्यस्थलमै समर्पित रहने उहाँको मेहनत र इमानदार सेवाको गाउँपालिकाले उच्च मूल्याङ्कन गरेको छ।


अर्याललाई गाउँपालिकाले यसअघि सर्वोत्कृष्ट कर्मचारीका रूपमा सम्मान गर्दै नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो। उक्त सम्मानले कर्मचारीहरूको मनोबल बढाउनुका साथै जिम्मेवारीप्रतिको लगनशीलता र इमानदार सेवाभावलाई प्रोत्साहन गरेको बताइएको छ।


कार्यालय परिसरको चट्टानी भूगोललाई श्रम, सीप र सामूहिक प्रयासबाट सयपत्री फूलले सजिएको आकर्षक फूलबारीमा रूपान्तरण गर्नुले सार्वजनिक स्थानको सौन्दर्यीकरणमा कर्मचारीको भूमिका कति महत्वपूर्ण हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

तिहारको अवसरमा पाणिनी गाउँपालिका कार्यालय परिसरमा फुलेका सयपत्री फूलले चाडपर्वको रौनक थप्नुका साथै मेहनत, सिर्जनशीलता र सामूहिक प्रयासको सुन्दर सन्देशसमेत दिएको छ।


तस्बिर : डिआरजी सुमन, दुर्गाफाँट, अर्घाखाँची डट कम।









#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD #पाणिनीगाउँपालिका #सयपत्रीफूल #तिहार #अर्घाखाँची




