भजनले देशभर चिनिएका दृष्टिविहीन गायक सुनील सिंहको आँखाको उपचार सुरु, दृष्टि फर्किने आशा

सञ्जय मिश्रा

रौतहट २० कार्तिक। थोरै लगानीको हिन्दी धार्मिक फिल्मको भजन गायनमार्फत देशभर पहिचान बनाउन सफल भारतीय गायक सुनीलसिंह लोधीको जीवनमा आशाको नयाँ किरण देखिएको छ।

जन्मजात दृष्टिविहीन रहेका सुनीलको आँखाको उपचार प्रक्रिया सुरु भएको छ। उपचारपछि आँखाको ज्योति फर्किने आशा पलाएसँगै उनको जीवनमा नयाँ सम्भावनाको ढोका खुलेको छ।

मात्र भारतीयरुपैयाँ दुईकरोडको लागतमा निर्मित फिल्म ‘हनुमान अंश’ मा भजन गाएर व्यापक चर्चा कमाएका सुनीलले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै आफ्नो आँखाको ज्योति पुनः फर्कियोस् भन्ने कामनासहित सबैलाई प्रार्थना गरिदिन आग्रह गरेका छन्।

उनले चिकित्सकहरूले आँखाको परीक्षण गरिरहेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। ती तस्बिरसँगै उनले आफ्नो उपचार प्रक्रिया अघि बढिरहेको जानकारी दिएका हुन्।

कुनै समय जीवनयापनका लागि रेलहरूमा भजन गाएर गुजारा गर्ने सुनीलको प्रतिभाले विस्तारै देशव्यापी पहिचान बनाएको थियो। आर्थिक तथा व्यक्तिगत चुनौतीका बीच पनि संगीतप्रतिको लगावलाई निरन्तरता दिएका उनले आफ्नो सुमधुर भजन गायनबाट लाखौँ श्रोताको मन जित्न सफल भएका छन्।

सुनीलको जीवनकथा संघर्ष, आत्मविश्वास र प्रतिभाको उदाहरणका रूपमा हेरिएको छ। जन्मदेखि नै दृष्टिविहीन भएर पनि संगीतलाई आफ्नो जीवनको आधार बनाएका उनले कठिन परिस्थितिमा हार नमानी निरन्तर अघि बढे।

अहिले उनको आँखाको उपचार सुरु हुनु केवल स्वास्थ्यसम्बन्धी खबर मात्र नभई लामो समयदेखि संघर्ष गरिरहेका एक प्रतिभाशाली कलाकारका लागि नयाँ आशाको सुरुवात पनि हो।

images

यद्यपि उपचारपछि आँखाको ज्योति पूर्ण रूपमा फर्किने वा नफर्किने विषयमा चिकित्सकीय निष्कर्ष आउन बाँकी छ। तर उपचार प्रक्रिया सुरु हुनुलाई नै सुनील र उनका शुभचिन्तकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।

संघर्षले चिनाएको प्रतिभा

images

सुनीलको कथाले एउटा महत्वपूर्ण सन्देश दिन्छ—शारीरिक चुनौतीले मानिसको प्रतिभा र सपना रोक्न सक्दैन। रेलका डिब्बामा भजन गाएर जीवन चलाउने अवस्थाबाट देशभर चिनिने कलाकार बन्न सफल उनको यात्रा आफैँमा प्रेरणादायी छ। अब सबैको चाहना छ, उनको जीवनमा संगीतसँगै संसारलाई आफ्नै आँखाले हेर्ने अर्को खुसी पनि थपियोस्।