-प्रेमनारायण आचार्य , अर्घाखाँची।
अर्घाखाँची २४ कात्तिक । अर्घाखाँचीका नेवार समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको विशेष पर्व म्हः पूजा श्रद्धा, भक्ति र उल्लासका साथ मनाएका छन्। नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले विधिपूर्वक म्हः पूजा गरी नयाँ वर्षको स्वागत गरेका हुन्।
म्हः पूजाका अवसरमा नेवार समुदायका सदस्यहरूले आफ्नै शरीरलाई मण्डलका रूपमा सजाएर पूजा गरेका थिए। शरीर स्वस्थ, निरोगी र दीर्घायु रहोस् तथा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त होस् भन्ने कामनासहित म्हः पूजा गर्ने परम्परा रहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका लगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा म्हः पूजा हर्षोल्लासका साथ मनाइएको छ।
म्हः पूजाका अवसरमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मण्डल बनाउने, फूल, अक्षता, तेललगायत परम्परागत सामग्री प्रयोग गरी विधिपूर्वक पूजा गर्ने र सगुन ग्रहण गर्ने चलन छ। यस पर्वले मानिसलाई आफ्नै शरीर, आत्मा र जीवनको महत्त्व बुझाउँदै आत्मसम्मान र सकारात्मक सोचको सन्देश दिने विश्वास गरिन्छ।
अर्घाखाँची युवा परिषद्का अध्यक्ष तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले म्हः पूजाले पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउने बताए । उनले यस्ता मौलिक पर्व तथा परम्पराको संरक्षण र पुस्तान्तरणमा सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
नेवार समुदायको पुस्तौँदेखिको मौलिक परम्परा र सांस्कृतिक सम्पदाका रूपमा रहेको म्हः पूजाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, संस्कार र पहिचानसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। मौलिक संस्कृतिको संरक्षणसँगै आत्मसम्मान, पारिवारिक एकता र सामाजिक सद्भावको सन्देश दिने म्हः पूजाले अर्घाखाँचीमा सांस्कृतिक रौनक थपेको छ।