
काठमाडौं, ४ मंसिर । भारतमा हिन्दुहरूको निकै ठूलो जनसंख्या बसोबास गर्दछ, जुन हाल विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हो।
भारतमा सन् २०२० मा हिन्दुहरूको संख्या १ अर्ब (१०० करोड) भन्दा बढी थियो जबकि अन्य ६ करोड ५० लाख (६.५ करोड) हिन्दुहरू अन्य देशहरूमा मुख्यतः नेपाल र बंगलादेशमा बसोबास गरिरहेका थिए ।


‘प्यु रिसर्च सेन्टर’ को अनुमान अनुसार आगामी दशकहरूमा भारत र विश्वभरि हिन्दुहरूको कुल संख्या बढ्नेछ, यद्यपि अन्य धर्महरूको तुलनामा यो वृद्धिदर भने सुस्त हुनेछ।

प्यु रिसर्च सेन्टरको एक प्रतिवेदन अनुसार सन् २०२० देखि २०७० को बीचमा भारतमा हिन्दुहरूको संख्या १७ करोड ६० लाखले बढ्ने अनुमान गरिएको छ। हालका दशकहरूमा भारतको कुल प्रजनन दरमा तीव्र गिरावट आएको भए तापनि हिन्दु महिलाहरूको तुलनामा मुस्लिम महिलाहरूका सन्तान संख्या औसतमा बढी छ। भारतको कुल जनसंख्यामा हिन्दुहरूको हिस्सा घट्ने र मुस्लिमहरूको हिस्सा बढ्ने अपेक्षा गरिएको छ। यस्तो परिवर्तनका बाबजुद देशको कुल जनसंख्यामा हिन्दुहरूको हिस्सा तीन चौथाइभन्दा बढी नै रहनेछ।
सन् २०२० देखि २०७० को बीचमा विश्वभर हिन्दुहरूको संख्या १९ करोड ९० लाखले वृद्धि भई कुल जनसंख्या करिब १ अर्ब ४० करोड पुग्ने अनुमान गरिएको छ। यद्यपि, यसका बाबजुद विश्व जनसंख्यामा हिन्दुहरूको हिस्सामा भने सामान्य गिरावट आउनेछ । सन् २०२० मा १५ प्रतिशत रहेको यो हिस्सा सन् २०५०/२०७० सम्ममा १४ प्रतिशतमा झर्नेछ।


भारतबाहेक हिन्दु जनसंख्यामा हुने वृद्धि मुख्यतया पाकिस्तान र संयुक्त राज्य अमेरिकामा देखिनेछ, जहाँ क्रमशः ५० लाख र ४० लाखले वृद्धि हुनेछ।

यस अवधिमा हिन्दु जनसंख्याको हिसाबले संयुक्त राज्य अमेरिका विश्वमा पाँचौँ स्थानमा रहनेछ। नेपाल र भारत मात्र यस्ता दुई देश हुनेछन् जहाँ हिन्दुहरू बहुमतमा छन्। सुरिनाम, फिजी र मौरिससमा हिन्दु जनसंख्याको हिस्सा ५ प्रतिशत विन्दु वा सोभन्दा बढीले घट्नेछ। अर्कोतर्फ, मुस्लिम जनसंख्या बढ्ने क्रममा छ र सन् २०७० सम्ममा इस्लाम विश्वको सबैभन्दा ठूलो धार्मिक समूह बन्नेछ।




