आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

१- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको जनाएको छ । सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यस प्रकरणमा मलेसिया र नेपाल सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट रकम असुली गरिएको आरोप छ । ब्युरोका अनुसार गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउने निर्णय गरिएको थियो । सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराइएको तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरिएको सीआईबीको आरोप छ । यस प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट २०८३ मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको ब्युरोले जनाएको छ । सीआईबीका अनुसार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसमेत रहेका ५९ वर्षीय अर्याललाई २०८३ मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनीमाथि अवैध रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको तथा आर्थिक लाभ लिने र दिलाउने कार्यमा भूमिका रहेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।

२- प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा बिहीबार भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो । भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । दुवैबीच भ्रमणका विषयमा विस्तृत छलफल भएको बताइएको छ । त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि छलफल भएको छ । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सन्दर्भमा समेत दुवै नेताबीच कुराकानी भएको थियो । भेटमा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका साथै अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल भएको सभापति लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

३- म्यानमारका सैन्य शासक मिन आङ ह्लाइङले रोहिंग्या समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालयको फैसलाका आफूलाई अनुपयुक्त लाग्ने प्रावधान पालना नगर्ने बताएका छन् । अदालतको फैसलापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले जिम्मेवार देशका रूपमा उचित कदम चाल्ने तर अनुपयुक्त ठहरिएका निर्देशन पालना नगर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय न्यायालयले गत साता सन् २०१७ मा म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि गरेको सैन्य कारबाहीलाई नरसंहार ठहर गरेको थियो । उक्त कारबाहीमा करिब १० हजार रोहिंग्याको हत्या भएको र सात लाखभन्दा बढी विस्थापित भएर बंगलादेश पुगेको अदालतले जनाएको थियो ।  सन् २०१९ मा गाम्बियाले दायर गरेको मुद्दामा न्यायालयले म्यानमारले सन् १९४८ को नरसंहारसम्बन्धी महासन्धिका विभिन्न प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । नौ न्यायाधीशको समर्थन र छ जनाको असहमतिमा आएको फैसला अन्तिम भएकाले त्यसविरुद्ध पुनरावेदन गर्न मिल्दैन । अदालतले म्यानमारलाई नरसंहारसम्बन्धी गतिविधि रोक्न, दोषीमाथि अनुसन्धान गर्न र पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । यद्यपि, फैसला कार्यान्वयन गराउने प्रत्यक्ष शक्ति भने अदालतसँग छैन । त्यसका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय दबाबमा निर्भर रहनुपर्ने अवस्था छ । म्यानमारले नरसंहारको आरोप अस्वीकार गर्दै आएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि देश गृहयुद्धमा फसेको छ भने सैन्य नेतृत्वमाथि विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेका छन् । अदालतको फैसलालाई रोहिंग्या समुदाय र मानव अधिकारवादी संस्थाहरूले लामो समयदेखि न्यायको मागपछि प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन् ।

४- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नासहितका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, सञ्चारमाध्यमबाट पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाएको छ । घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ । त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ । मागप्रति लिखित ऐक्यबद्धता जनाउने दलको कार्यालयमा भने धर्ना नदिने र माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ । यसअघि महासंघले देशभर सामुहिक गिरफ्तारी दिएको थियो । महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न भएको भन्दै सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको बताएको छ ।

५-  राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेश प्रमुखको समेत कार्यभार तोकेका छन् । कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् । यसअघि कोशी प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल कात्तिक २४ गते पूरा भएपछि उक्त पद रिक्त भएको थियो ।

६- सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्न राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन् । मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिमा ऊर्जा क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञहरू पनि सहभागी छन् । समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी सरकारसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ । समितिले ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र सम्भावनाका आधारमा आगामी दिनमा अपनाउनुपर्ने नीतिगत दिशा तय गर्नेछ । नयाँ नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत रूपमा अघि बढाउने सरकारको तयारी छ । साथै, दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने लक्ष्य राखिएको छ ।

७- काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी कुल २६ पदक जितेको छ । पदक तालिकाको दोस्रो स्थानमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ९ स्वर्ण, ३ रजत र ३ कांस्य गरी १५ पदक जितेको छ । त्यस्तै, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ६ स्वर्ण, १० रजत र १३ कांस्यसहित कुल २९ पदक जितेर तेस्रो स्थानमा रहेको छ । नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल २७ पदक जित्दै चौथो स्थान हासिल गरेको छ । कोशी प्रदेश २ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ रजत र १ कांस्य गरी ५ पदकसहित छैटौँ स्थानमा छन् । तेस्रो दिनसम्मको विवरणअनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी, कर्णाली, लुम्बिनी र मधेश प्रदेशले पदक जित्न सकेका छैनन् । हालसम्म प्रतियोगितामा ३४ स्वर्ण, ३४ रजत र ३६ कांस्य गरी कुल १०४ पदकको टुङ्गो लागेको छ ।

images

८- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री बालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयतामा रहेका छन् । त्यस्तै नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई राखिएको छ । सोविता पार्टीको उपसभापतिमा निर्वाचित भएपछि मन्त्रिपरिषदमा पनि उनको वरियता माथि राखिएको हो । यसअघि उनी सातौं स्थानमा थिइन् । त्यस्तै चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल र पाँचौँमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । त्यसपछि क्रमशः गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ र महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादी नवौँ स्थानमा छन् । त्यस्तै, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल दसौँ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता एघारौँ, शिक्षामन्त्री सस्मित पोखरेल बाह्रौँ, पर्यटनमन्त्री खडक राज पौडेल तेह्रौँ र सूचनामन्त्री डा. विक्रम तिमिल्सिना चौधौँ स्थानमा छन् । नयाँ मर्यादाक्रमको पन्ध्रौँ स्थानमा कृषिमन्त्री गीता चौधरी, सोह्रौँमा उद्योगमन्त्री दिपक कुमार साह र सत्रौँमा युवामन्त्री रामजी यादव रहेका छन् ।

९-  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी नन्दन यादवले आफ्नो जुत्ताबारे सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति आपत्ति जनाएका छन् । उनले जुत्ता च्यातिएको भन्दै सार्वजनिक गरिएको तस्बिरको वास्तविकता फरक रहेको बताउँदै अनावश्यक विवाद नगर्न आग्रह गरेका हुन् । नन्दनको जुत्ता बारे सामाजिक सञ्जालमा नेपाली खेलाडी पैसा नभएर फाटेको जुत्ता लगाएर खेलिरहेको आशयका टिका टिप्पणी भएपछि यादवले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफू क्रिकेट खेल्न आवश्यक सामग्री किन्न आर्थिक रूपमा सक्षम रहेको बताएका छन् । उनले भनेका छन्- ‘भगवान्को कृपाले आफ्नै क्रिकेट सामग्री किन्न सक्ने गरी आम्दानी गर्छु । तस्बिरमा देखाइएको जुत्ता भनिएजस्तो अवस्थामा छैन । त्यसमा देखिएको क्षतिलाई बढाइचढाइ गरिएको हो ।’ उनका अनुसार जुत्तामा देखिएको सानो प्वाल आफूले खेल्दा सहज होस् भनेर जानाजानी बनाएको बताएका छन् । वास्तविकता नबुझी भ्रामक सूचना फैलाउने र अनावश्यक विवाद सिर्जना गर्ने काम नगर्न उनले सञ्चारमाध्यम तथा अन्य व्यक्तिलाई आग्रह गरेका छन् ।  यादवले आफू हिमालयन विलो, माया ग्रुप, स्टडी एक्सप्रेस र जर्सी पसल नेपालजस्ता ब्रान्डसँग आबद्ध रहेको पनि उल्लेख गर्दै क्रिकेट सामग्री आवश्यक पर्दा यी ब्रान्डको सहयोग पाउने र आफूले पनि सामग्री किन्न सक्ने बताएका छन् । उनले भनेका छन्- ‘म सबैको चासो र समर्थनको सम्मान गर्छु । तर निष्कर्षमा पुग्नुअघि वास्तविकता बुझिदिन आग्रह गर्छु ।’ अनावश्यक विवादभन्दा क्रिकेट र खेलमा केन्द्रित हुन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।

images

१०-  नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ४.८८ प्रतिशतले बढेको छ भने लक्ष्मी उन्नति कोषको शेयर ४.२९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एलएस होराइजन १२ को शेयर ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालय उर्जा विकास कम्पनिको २४ करोड बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

११- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रोहित पौडेल प्रेमिका सिम्रन खड्कासँग वैवाहिक जीवनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच सिम्रनसँग विवाह गरेका हुन् । रोहितको विवाह समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको उपस्थिति रहेको थियो । समारोहमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा सहभागी भएका थिए । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रोहित र सिम्रनले वैवाहिक जीवनको नयाँ यात्रा सुरु गरेका हुन् ।

images

१२- विश्वका धनाढ्य व्यक्ति एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको दुई कित्ता सेयर दिने घोषणा गरेका छन् । उनले दिने यो उपहारको कुल मूल्य १८ अर्ब ३५ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान छ । मस्कका अनुसार प्रत्येक बालबालिकाले एउटा सेयर स्पेसएक्सबाट र अर्को सेयर उनी स्वयंको तर्फबाट पाउनेछन् । उनले सामाजिक सञ्जालमार्फत घोषणा गरे पनि सेयर वितरणको विस्तृत प्रक्रिया खुलाएका छैनन् । मस्कले सामाजिक संजाल मा लेख्दै अर्कोमहिनाबाट स्पेसएक्सको शेयर हस्तान्तरण प्रक्रिया शुरु हुने बताउदै भनेका छन्- ‘अमेरिकाका प्रत्येक बालबालिकाले स्पेसएक्सका दुई कित्ता सेयर पाउनेछन्। एउटा सेयर कम्पनीको तर्फबाट र अर्को मेरो व्यक्तिगत तर्फबाट दिइनेछ । स्पेसएक्सले दिने सेयर आगामी महिनामै हस्तान्तरण गरिनेछ । मेरो व्यक्तिगत तर्फबाट दिइने सेयर भने आगामी वर्षको जुन महिनामा सेयर बिक्रीमा रहेको प्रतिबन्ध अवधि समाप्त भएपछि हस्तान्तरण गरिनेछ ।’ अमेरिकामा १८ वर्षमुनिका करिब ७ करोड २० लाख बालबालिका छन् । बुधबार स्पेसएक्सको एउटा सेयरको मूल्य १२७.४४ डलर कायम हुँदा मस्कको घोषणाको कुल मूल्य करिब १८ अर्ब ३५ करोड डलर पुग्ने देखिएको छ । यसअघि स्पेसएक्सले सन् २०२५ देखि २०२८ बीच जन्मिएका अमेरिकी बालबालिकाका लागि बनाइएको ‘ट्रम्प अकाउन्ट’ कार्यक्रममा सक्रिय खातामा कम्पनीको एक कित्ता सेयर दिने घोषणा गरेको थियो । मस्कले पनि कम्पनीले दिने बराबरकै सेयर व्यक्तिगत रूपमा थप्ने बताएका छन् । मस्कले सेयर वितरणलाई भविष्यको अर्थतन्त्रमा आम नागरिकको प्रत्यक्ष हिस्सेदारी बनाउने माध्यमका रूपमा व्याख्या गरेका छन् । यसअघि एआई कम्पनी एन्थ्रोपिकले पनि आफ्नो सेयरको पाँच प्रतिशत सार्वजनिक हितका लागि छुट्याउने घोषणा गरेको थियो ।

१३- चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो रकम कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो । प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म आन्तरिक ऋण १४ खर्ब ४० अर्ब ४७ करोड ५९ लाख र वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ रहेको छ। विनिमय दरमा भएको लाभका कारण सार्वजनिक ऋण दायित्वमा ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले कमी आएको प्रतिवेदनमा उल्लेख छ ।  सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो । आन्तरिक ऋण उठाउने लक्ष्यको ३०.४९ प्रतिशत र वैदेशिक ऋणको ११.६२ प्रतिशत मात्र प्राप्त भएको छ ।  यसैगरी, सरकारले कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ३३.७३ प्रतिशत हो। यसमध्ये आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सार्वजनिक ऋणको बढ्दो दायित्वसँगै ऋणको साँवा र ब्याज भुक्तानीमा ठूलो रकम खर्चिनुपर्ने अवस्था देखिएको छ ।

१४-  अष्ट्रेलिया सरकारले सामाजिक सञ्जाल तथा इन्टरनेट कम्पनीलाई झुटा समाचार र हानिकारक सामग्री हटाउन अनिवार्य गर्ने नयाँ कानुन ल्याएको छ । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जालसँगै कृत्रिम बुद्धिमत्ता (एआई), एआई च्याटबट र खेलसम्बन्धी कम्पनीले पनि आफ्ना माध्यममा हानिकारक सामग्री फैलिन नदिन सक्रिय व्यवस्था गर्नुपर्नेछ । ‘डिजिटल ड्युटी अफ केयर’ नाम दिइएको यो कानुनले कम्पनीलाई प्रयोगकर्ताको उजुरी आएपछि मात्र सामग्री हटाउने छुट दिने छैन । आफ्ना माध्यममा महिलाविरुद्ध घृणा फैलाउने सामग्री, हिंसा, जोखिमपूर्ण गतिविधि, नक्कली भिडियो तथा बालबालिकालाई हानि पुर्‍याउने सामग्री रोक्न पहिल्यै आवश्यक व्यवस्था गर्नुपर्नेछ । नयाँ कानुनले कम्पनीलाई आफ्ना माध्यमको बनावट र सामग्री सिफारिस गर्ने प्रणालीबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न पनि बाध्य बनाउनेछ। साथै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रणालीले सिफारिस गरेका सामग्री तथा भिडियो हेर्ने वा नहेर्ने विकल्प रोज्न पाउनेछन् । नियम उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी कारोबारबाट हुने आम्दानीको ५ प्रतिशत वा १० करोड ९२ लाख अष्ट्रेलियाली डलरसम्म जरिवाना गर्न सकिनेछ । यीमध्ये जुन रकम बढी हुन्छ, त्यही असुल गरिनेछ । साना तथा कम जोखिम भएका व्यवसायलाई भने छुट दिन सकिने व्यवस्था छ । कानुन आगामी वर्ष नोभेम्बरदेखि लागू हुन सक्ने जनाइएको छ । अष्ट्रेलियाकी सञ्चारमन्त्री अनिका वेल्सले यस कानुनको उद्देश्य इन्टरनेट प्रयोगकर्ताको सुरक्षा गर्नु रहेको बताएकी छन् । उनले यसलाई सवारीसाधनमा सिट बेल्ट अनिवार्य गर्ने र चुरोटको प्याकेटमा सादा आवरण लागू गर्ने नियमसँग तुलना गरेकी छन् । यसअघि सन् २०२५ मा अष्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो । युरोपेली संघ र बेलायतमा पनि सामाजिक सञ्जाल कम्पनीलाई हानिकारक तथा गैरकानुनी सामग्री नियन्त्रण गर्नुपर्ने व्यवस्था छ ।

Nepal life insurance

१५-  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिनी वर्ल्ड शेयर एक्सचेन्ज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ । नेप्सेले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौटको काम नगरेको भन्दै सिडिएस एन्ड क्लियरिङ लिमिटेडले उक्त कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ । नेप्सेले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ ।

१६- बलिवुड अभिनेता रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ विश्वव्यापी कमाइका आधारमा सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म बनेको छ । प्रदर्शनको २१ दिनमा फिल्मले विश्वभर १ हजार ७५५ करोड ६० लाख भारु कमाउँदै अल्लु अर्जुनको ‘पुष्पा २’लाई पछि पारेको हो । सैकनिल्कका अनुसार फिल्मले २१औँ दिन बुधबार भारतमा ९ करोड ६० लाख भारु कमाएको छ । यससँगै भारतमा फिल्मको कुल खुद कमाइ ९८२ करोड ५५ लाख भारु पुगेको छ । भारत र विदेशसहितको कुल कमाइ भने १ हजार ७५५ करोड ६० लाख भारु पुगेको छ । विदेशी बजारबाट मात्रै फिल्मले ५८२ करोड भारु कमाएको छ । यसअघि ‘पुष्पा २’ले विश्वभर १ हजार ७४२ करोड १० लाख भारु कमाएको थियो । ‘रामायण’ले उक्त कमाइलाई उछिन्दै चौथो स्थानमा पुगेको हो । अब फिल्मलाई ‘बाहुबली २’को विश्वव्यापी कमाइको कीर्तिमान तोड्न थप ३२ करोड ४६ लाख भारु आवश्यक छ । ‘बाहुबली २’ले १ हजार ७८८ करोड ६ लाख भारु कमाएको थियो । सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको कीर्तिमान भने आमिर खान अभिनीत ‘दंगल’को नाममा छ, जसले विश्वभर २ हजार करोड भारुभन्दा बढी कमाएको थियो । फिल्मले लगातार २० दिनसम्म भारतमा दैनिक १० करोड भारुभन्दा बढी खुद कमाइ गरेको थियो । तर २१औँ दिन पहिलोपटक कमाइ १० करोडभन्दा तल झर्दै ९ करोड ६० लाख भारुमा सीमित भएको छ ।  नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् ।

१७- हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ६४ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो । आईपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभए पुस ३ गतेसम्म आवेदन खुला रहनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर जारी गरिसकेको छ । आईपीओबाट प्राप्त रकममध्ये ४७ करोड ७६ लाख रुपैयाँ सिटिजन्स बैंकको ऋण तिर्न र ११ करोड ३८ लाख रुपैयाँ निर्माण व्यवसायीलाई भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा १७ करोड रुपैयाँ नाफा कमाएको छ । विद्युत् बिक्रीबाट कम्पनीले ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५ पैसा र प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

१८- अमेरिकी नियामक निकायले अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह प्रक्षेपण गर्ने योजनाका लागि अनुमति दिएको छ । अन्तरिक्षमै डाटा सेन्टर  निर्माण गर्ने उद्देश्यसहित अघि सारिएको यो योजनालाई अमेरिकी संघीय सञ्चार आयोगले पहिलोपटक स्वीकृति दिएको हो । स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सूर्यको प्रकाशबाट ऊर्जा प्राप्त गर्ने उपग्रहहरू अन्तरिक्षमा स्थापना गरिनेछन् । ती उपग्रहले कृत्रिम बुद्धिमत्तासम्बन्धी डाटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउने काम गर्नेछन् । अमेरिकी संघीय सञ्चार आयोगले परियोजनालाई अनुमति दिँदै यसले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रलाई सहयोग पुर्‍याउने जनाएको छ । आयोगका अध्यक्ष ब्रेन्डन कारले यस परियोजनालाई अमेरिकाको अन्तरिक्ष तथा अत्याधुनिक प्रविधिसम्बन्धी नेतृत्व विस्तार गर्ने नयाँ अवसरका रूपमा व्याख्या गरेका छन् । आयोगको स्वीकृतिअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्म उपग्रह प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ । सन् २०३५ नोभेम्बरसम्म स्वीकृत उपग्रहको १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्म ५० प्रतिशत प्रक्षेपण गरिसक्नुपर्ने सर्त राखिएको छ । कम्पनीले भने आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह प्रक्षेपण गर्ने लक्ष्य सार्वजनिक गरिसकेको छ । यी उपग्रहहरू पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन् । स्पेसएक्सको हाल सञ्चालनमा रहेको स्टारलिङ्क सञ्जालसँग जोडिएर तिनले डाटा आदानप्रदान गर्नेछन् । स्टारलिङ्कले हाल १० हजारभन्दा बढी उपग्रहमार्फत विश्वका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने अवधारणालाई गुगल र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि अध्ययन गरिरहेका छन् । पृथ्वीमा निर्माण गरिने डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र उपकरण चिस्याउन पानी आवश्यक पर्ने भएकाले अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने केन्द्रलाई वैकल्पिक उपायका रूपमा हेरिएको छ । पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढेसँगै डाटा प्रशोधन र भण्डारणको माग पनि उल्लेख्य रूपमा बढेको छ । तर, पृथ्वीमा ठूला डाटा सेन्टर निर्माण गर्दा विद्युत् र पानीको अत्यधिक खपत हुने, वातावरणमा असर पर्ने तथा स्थानीय समुदायको विरोध सामना गर्नुपर्ने अवस्था छ । अमेरिकाका विभिन्न क्षेत्रमा यस्ता केन्द्र निर्माणको विरोध भइरहेको छ । यद्यपि अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्नु चुनौतीरहित भने छैन । विज्ञहरूका अनुसार उपग्रह र अन्य उपकरण अन्तरिक्षमा पठाउन अझै ठूलो खर्च लाग्छ । त्यहाँ उपकरणको तापक्रम नियन्त्रण, सुरक्षा र ऊर्जा व्यवस्थापन पनि जटिल विषय हुन् । त्यसैगरी अन्तरिक्षमा बढिरहेको फोहोरका कारण उपग्रहहरू एकआपसमा ठोक्किने जोखिमसमेत बढेको छ । स्पेसएक्सको स्टारलिङ्क सञ्जालले पृथ्वीको तल्लो कक्षमा अत्यधिक उपग्रह थपेर अन्तरिक्षमा भीड बढाएको आरोप लाग्दै आएको छ । तर, मस्कले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन् । अन्तरिक्षमा १० लाखसम्म उपग्रह राख्ने अनुमति पाए पनि स्पेसएक्सले वास्तवमै त्यति नै सङ्ख्यामा उपग्रह प्रक्षेपण गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन ।

१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतसहित सात प्रमुख अर्थतन्त्रका वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त आयात शुल्क लगाउने प्रस्ताव अघि सारेको छ । औद्योगिक उत्पादन क्षमता र उत्पादनमा केन्द्रित अमेरिकी अनुसन्धानपछि यस्तो प्रस्ताव ल्याइएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रस्तावित शुल्कको सूचीमा भारत, दक्षिण कोरिया, ताइवान, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र कम्बोडिया छन् । अमेरिकाले यी देशले बजारको मागभन्दा बढी उत्पादन क्षमता विस्तार गरेको आरोप लगाएको छ । अमेरिकाले भारत, चीन, युरोपेली संघ, जापान, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम गरी १४ अर्थतन्त्रको औद्योगिक उत्पादनबारे अनुसन्धान गरेको छ । यसै क्रममा चीनमाथि २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरिएको छ । यसैगरी, अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलका विमानसहित केही उत्पादनमा पनि अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ । प्रस्तावित शुल्क तत्काल लागू हुने छैनन्। त्यसअघि सार्वजनिक परामर्श प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रस्ताव डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनअघि सार्वजनिक भएको हो ।

२०- म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल करिअर सम्मानजनक रूपमा अन्त्य गराउन पोर्चुगल फुटबल महासङ्घले पहल गर्नुपर्ने बताएका छन् । ग्वार्डिओलाले हालै दिएको एक अन्तर्वार्तामा रोनाल्डोले राष्ट्रिय टोलीबाट यसरी बिदा हुन नहुने बताउँदै भनेका छन्- ‘क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीलाई यसरी छाड्नु हुँदैन । उनीहरू उनलाई यसरी बिदा गर्न सक्दैनन् ।’ उनले रोनाल्डोको बिदाइ सम्मानजनक बनाउन दुवै पक्षले प्रयास गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘उनले फुटबलमा हासिल गरेको उपलब्धिका आधारमा उनको बिदाइ फरक र विशेष हुनुपर्छ । उनले आफ्ना देशवासीको माया र सम्मान महसुस गर्ने गरी बिदाइ समारोह आयोजना गरिनुपर्छ ।’ एक–दुई महिनाको घटना, असमझदारी वा केही व्यक्तिसँगको विवादका आधारमा खेलाडीको पूरै करिअरको मूल्याङ्कन गर्न नहुने उनको भनाइ छ । रोनाल्डो पोर्चुगलका लागि मात्र नभई भविष्यका पुस्ताका खेलाडीका लागि पनि महत्त्वपूर्ण व्यक्तित्व रहेको उनले उल्लेख गरेका छन् । ग्वार्डिओलाले रोमारियो, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र पाओलो माल्दिनीजस्ता महान् खेलाडीले सम्मानपूर्वक बिदाइ पाउनुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘महान् खेलाडीले खेलमा दिएको योगदानका कारण सम्मानसहित बिदा हुने अधिकार कमाएका हुन्छन् । उनीहरू मैदानबाट मुख्य ढोकाबाटै बिदा हुन योग्य छन् ।’