प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल वायु सेवा निगमको लागि नयाँ विमान खरिद गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै दवाब नदिएको बताउनु भएको छ। ध्वजाबहाक विमान सेवा विमान विहिन हुनुहुन्न भन्ने मान्यताका आधारमा विमान खरिद गर्न ढिलो नगरौ भन्ने मात्र आफ्नो मान्यता रहेको उहाँले स्पष्ट गर्नुभयो। सार्वजनिक लेखा समितिको बैठकमा प्रधानमन्त्री नेपालले सरकारले विमान खरिदमा चासो नराखेको बिषयमा गुनासो बढेपछि आफूले विमान खरिदमा ढिलाइ नगर्न निर्देशन दिएको बताउनु भएको हो।
संसारका अन्य ध्वजाबहाकसँग जहाजको संख्या बढ्दै जाने र नेपालको ध्वजाबहाक ओरालो लाग्ने अबस्थाले आफूलाई थप चिन्तित बनाएकोले विमान खरिद गर्न चासो जनाएको प्रधानमन्त्रीले बताउनु भयो। अध्ययन प्रतिवेदन र लेखा समितिले दिएको निर्देशनका आधारमा पारदर्शी ढंगले खरिद प्रक्रिया अगाडी बढाउनुपर्ने भन्ने आफ्नो मान्यता कायमै रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। विमान खरिद प्रकरणमा अख्यितार दुरुपयोग आयोगका सचिवलाई प्रधानमन्त्रीले अनुचित दवाब दिएको भन्ने सम्बन्धमा लेखा समितिले प्रधानमन्त्री नेपालसंग आज छलपल गरेको हो।
बैठकमा सभाषदहरुले अख्तियार पदाधिकारी विहिन भएको अबस्थामा प्रधानमन्त्रीले सचिवलाई दवाब दिएको भन्ने कुराले लेखाको ध्यानाकर्षण भएको बताएका छन्।