काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार डाबर नेपालविरुद्ध प्रभावकारी रूपमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार एक रिट दायर भएको छ । रिटमा तत्काल कारबाही गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाबर नेपालका हाकिमलाई पक्राउ पुर्जी जारी गर्नुपर्नेमा केही नगरेको जिकिर छ ।
वीरगन्ज उपमहानगरपालिकाका भूषण गिरीले दायर गरेको रिटमा दूषित जुस उत्पादन गर्नेको लाइसेन्स खारेज गर्न उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा परमादेश जारी गर्न माग गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाई दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
अनियमित ढंगले रियल जुस उत्पादन गरेको भन्दै डाबर नेपालको कारखानामा अख्तियारले पुस ५ मा छापा मारी अनियमित ‘स्टिकर’ लगाएका रियल ब्रान्डका विभिन्न प्रकारका ७४ हजार कार्टन जुस बरामद गरी सिलबन्दी गरेको थियो ।



