आज चितवन बन्द, सवारीसाधनको ठक्करबाट एकको मृत्यु, क्यान्सर बोर्ड सदस्यको गाडी तोडफोड

चितवन – संचारमाध्यमहरुले जनाए अनुसार आज बिहान मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।भरतपुरको वाइपास रोडस्थित आँखा असपताल अगाडि नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट स्थानीय अरोमा उच्चमाविका विद्यार्थी भाषा न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


ना १५ प ४७१२ नम्बरको मोटरसाइकमा सवार उनलाई रातिको समयमा ठक्कर  दिएको र उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा आज  बिहान ज्यान गएको हो । ठक्करपछि फरार रहेको सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यसैबीच सवारी दुर्घटनाको विषयलाई लिएर उच्चमाध्यामिक शिक्षा परिषद -हिसान) अन्तर्गतका विद्यार्थीहरुले आज चितवन बन्दको आहृवान गरेका छन् ।


चितवनको भरतपुरमा शनिबार भएको सवारी दुर्घटनामा दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै विद्यार्थीले बन्द आहृवान गरेका हुन् । बन्दको आज बिहान आँशिक प्रभाव परेको छ ।


विगतको तुलनामा सवारीसाधन केही कम मात्रामा चलेका छन् । यस्तै नारायणगढबाट काठमाडौ जाँदै गरेको अर्थमन्त्रालयअन्तर्गत राजीस्व अनुसन्धान विभागमा महानिर्देशक एवम् चितवन क्यान्सर अस्पतालका बोर्ड सदस्य महेश्वरप्रसाद दाहाल चढ्ने सवारीसाधन चितवनमा तोडफोड भएको छ ।


अज्ञात समूहले वा १ झ ७९१९ नम्बरको गाडी चितवनको कविलासस्थित भतेरीमा  तोडफोड गरेको इलाका प्रहरी कार्यालय जुगेडी चितवनका असही रत्नबहादुर विकले जानकारी दिनुभयो ।


उनीहरुले हिजो साँझ चालकलाई नियन्त्रणमा लिई गाडी जथाभाबी तोडफोड गरी सडकबाट २५ फिट तल फ्याकिदिएका थिए ।


क्यान्सर अस्पतालको कार्यकारी निर्देशक चयनको विवाद मिलाउन दाहाल चितवन आउनुभएको थियो । सो विवादमा आक्रोसित भएका व्यक्तिले आक्रोसमा गाडी तोडफोड गरेको हुनसक्ने बताइएको छ ।


दुईवटा मोटरसाइकलमा गएका उनीहरुले अर्थमन्त्रालयको गाडी यही होइन भन्दै चालकलाई धम्की दिएर तोडफोड गरेका थिए ।


अस्पतालमा  नयाँ कार्यकारी निर्देशक चयन गर्न पटकपटक  बसेको सञ्चालक समितिको बैठक बिनानिष्कर्ष टुङ्गदै आएको थियो । हिजोको बैठकमा पनि कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने विषयमा सञ्चालक समितिका सदस्यबीच मत बाझिएपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।


आज पनि सो विषयमा छलफल हुँदैछ । अस्पतालका कार्यकारी निर्देशक भक्तमान श्रेष्ठको म्याद गत भदौमा सकिएपछि नया कार्यकारी नियुक्ति हुन सकेको छैन । कार्यकारी निर्देशकमा आ-आफ्नो पक्षका व्यक्तिहरु नियुक्त गर्न प्रमुख राजनीतिक दलहरुले खोजेपछि निर्णय हुन नसकेको अस्पताल सञ्चालक समितिका सदस्य प्रेम रिमालले जानकारी दिनुभएको छ ।