काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार नेपालमा आउने अन्तराष्ट्रिय कल छली गरेको अभियोगमा प्रहरीले थप तीन बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । मोवाइल र टेलिफोन सेवा प्रदायकहरुले दिएको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय अनुसन्धान व्यूरोले शंकास्पद चार स्थानमा छापा मार्दा ती बंगलादेशी नागरिकहरु पक्राउ परेका हुन ।
व्यरोका निर्देशक राजेन्द्रसिंह भण्डारीले सोमवार प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पक्राउ पर्ने बङ्गलादेशीहरुमा काठमाडौं महानगरपालिका ३ टुसालबाट मोजाम मोहम्मद, जोरपाटी २ सुन्दरटोलबाट मोहम्मद सालेह अहमद र काठमाडौं महानगरपालिका ४ लाजिम्पाटबाट मोहम्मद सोराबुजामान् छन । उनीहरुसंगै प्रहरीले लाजिम्पाट साकुनामार्गबाट राजु पन्थीलाई पनि पक्राउ गरेको छ ।
अन्तराष्ट्रिय कल छली प्रकरणका केही मुख्य सञ्चालकहरु फरार भएकाले संरक्षण दिने र यो गिरोहलाई नेपालमा ल्याउने नाइकेको पहिचान हुन सकेको छैन । व्यूरो प्रमुख भण्डारी भन्छन, ‘ती फरारहरुको पहिचान भैसकेको छ, उनीहरुलाई इन्टरपोल मार्फत खोजी गरिरहेका छौं, उनीहरु पक्राउ गर्न सकिए मात्रै मुख्य व्याक्तिलाई नियन्त्रणमा लिन सकिन्छ ।’
भिओआइपी सञ्चालनमा उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाई रुबेल चौधरीका सम्लग्नता बारेमा सन्चारकर्मीले जिज्ञासा राख्दा व्यूरो प्रमुख भण्डारीले रुबेलको नाम हालसम्म कसैले नबताएको प्रष्ट पारे ।
प्रहरीले एक हप्ता भन्दा बढी समयदेखि निगरानी गरी अभियुक्तहरुले गैर कानूनी रुपमा अन्तराष्ट्रिय कल छल्न सञ्चालन गरेको भिओआईपीका अखडामा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले चार स्थानबाट एनटिसिको ५ सय १३, एनसेलको २ हजार ५ सय २८ थान र १ लाख २० हजार मुल्य बराबरको रिचार्ज कार्डहरु बरामद गरेको थियो ।
त्यस्तै भिओआईपीका उपकरणहरुमा जीएसएम गेटवे ८ थान, भ्वाइस गेटवे राउटर ४ थान, व्याट्री आठ थान, युपिएस ४ थान, कम्प्युटर १ थान र ४ सय ७६ थान सिम राख्ने क्षमताको पोर्टपनि बरामद भएको थियो ।
सम्मेलनमा व्यूरो प्रमुख भण्डारीले भीओआईपी अपरेशनमा संलग्न पक्ष, कानुनी प्रावधान, अपराध कार्यविधि र व्यूरोको सकृयताका बारेमा जानाकारी दिएका थिए ।
‘भोइस फक्स अपरेशन’ नाम राखी गत भाद्र १५ गतेदेखि व्यूरोले गरेको अपरेशनमा प्रहरीले हालसम्म २५ ठाउमा छापामारी ९ जना विदेशी र २३ जना नेपालीगरी ३२ जनालाई पक्राउ गरेको छ ।
‘बंगलादेशबाट भारतहुँदै गैरकानूनी रुपमा नेपाल छिरेका बंगलादेशीहरुले यस्तो कार्य गरेको देखिन्छ’ प्रहरी नायव महानिरीक्षक भण्डारीले संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिंदै भने, ‘उनीहरु आफनै देशमा भिओआईपीको गैरकानूनी कार्यगर्दा गर्दै भागेर नेपाल आएका जस्तो देखिन्छ ।’
नेपाल प्रहरीले दुरसञ्चारको सञ्चालन गर्ने अनुमति पाएका चारवटा प्रदायकहरुको सहयोगमा अन्तराष्ट्रिय कली छली गर्नेहरुलाई पक्राउ गर्दै आएको छ ।
सम्मेलनमा नेपाल टेलिकमका प्रतिनिधि सुरेन्द्र थिके र एनसेलकी प्रतिनिधि सञ्जु कोइरालाले नेपाल प्रहरीले भीओआईपी बिरुद्ध ‘भोइस फक्सको अपरेशन’ संचालन गरी अनुसन्धान अगाडि बढाएपछि आम्दानी बढेको र आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका इन्जिनियर कविन्द्र श्रेष्ठले भीओआईपीका बारेमा प्राविधिक जानकारी दिदैं यसको सञ्चालन र पत्ता लगाउने विधिबारे पत्रकारलाई जानकारी बताउनुभयो ।



