प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनका लागि गरिएको खरिद घोटलामा संलऊनहरुलाई तत्काल छानविन गरी कारवाही गर्न अख्तियारलाई निर्देशन

काठमाडौ – प्राप्त समाचार अनुसार  स‌सदको राज्य व्यवस्था समितिले नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनका लागि गरिएको खरिद घोटलामा संलऊनहरुलाई तत्काल छानविन गरी कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

नौ महिना अघि कारवाहीको लागि आयोगलाई समितिले गरेको अध्ययनको प्रतिवेदन दिएपनि अझै त्यस प्रकरणमा काम अघि नबढाएको भन्दै अगामी जेठ १४ गते भन्दा अघि नै कारवाही हुने गरी काम गर्न निर्देशन दिएको हो । जेठ १४ गते संविधानसभाको म्याद सकिने हुँदा त्यस अघि नै ‘अपराधी’ हरुलाई कारवाही गर्न भनेको हो ।

समितिले सुडानसम्म अध्ययन भ्रमण गरी तयार पारेको पारेको प्रतिवेदनमा प्रहरीका लागि गरिएको खरिदमा ३५ करोड रुपैयाँ घोटला भएको तथ्य प्रस्तुत गरेको छ । सुडानमा प्रयोग गर्ने प्रयोजनका लागि किनिएका एपीसीलगायतका सामाग्रीहरु कामै नलाग्ने थोत्रो रहेको प्रतिवेदनमा उल्लेख छ । समितिले मंगलर आयोगका सचिव भगवती प्रसाद काफ्लेलाई त्यसमा भएको कारवाही बारे जानकारी गराउन बोलाएको थियो ।

साथै समितिले ९ महिना अघि सुडानमा खटिएका प्रहरीहरुको ज्युज्यानमा खतरा रहेको तथा अन्तरराष्ट्रिय रुपमा पनि बद्नाम भएको भन्दै तत्काल आवश्यक सामाग्रीहरु पठाउन भनेको थियो ।

त्यस तर्फ पनि केही काम नभएकोमा आक्रोशित समितिले १० दिन भित्र जुन सुकै हालतमा सामाग्री पठाउन र नपठाए समितिले कठोर कदम चाल्ने निर्देशन दिएको छ । समितिका सदस्य तथा उक्त घट्नाको छानविन उपसमितिका संयोजक प्रदीप ज्ञवालीले सुडानका प्रहरीलाई कामै नलाग्ने (डिफंक) घोषणा गर्ने अबस्थामा पुगेकाले तत्काल समाग्री पठाउनु पर्ने बताएका थिए ।

गृहमन्त्री भीम रावलले आफुले प्रयास गर्दा पनि अर्थ मन्त्रालयले रकम निकासा नगरेका कारण सामाग्री पठाउन नसिकएको बताएका थिए । त्यसको जवाफमा समितिका सभापति रामनाथ ढकालले ९ महिना अघि नै सरकारले सामाग्री पठाउने प्रतिबद्धता जनाएकाले अर्थले रकम निकासा गर्नु पर्ने बताएका थिए । उनको प्रश्न थियो, ‘के अर्थ मन्त्रालय यही सरकारको एउटा निकाय होइन ?’