धनकुटा – प्राप्त समाचार अनुसार नेपाल टेलिकमले महिनौसम्म महशुल नतिर्ने क्षेत्रीय प्रशासन लगायत जिल्लाका ३७ सरकारी कार्यालयको टेलिफोन लाइन काटेको छ ।
जिल्लाभरका अधिकांश कार्यालयले झण्डै एक वर्षम्म पनि टेलिफोन महशुल नतिरेपछि सोमवारदेखि लाइन काट्न वाध्य भएको टेलिकम प्रशासन स्रोतले जनाएको छ ।
यस क्रममा क्षेत्रीय प्रशासन, जिल्ला प्रशासन, प्रहरी, राष्टिय अनुसन्धानलगायत कार्यालय टेलिफोन सम्पर्क विहीन हुन पुगेका छन् । पटक पटक महशुल बुझाउन ताकेता गर्दा समेत सुनुवाइ नभएपछि गत कातिक महिनासम्म महशुल नबुझाएका कार्यालयको लाइन काटिएको टेलिकम प्रमुख हरिकान्त चौधरीले जानकारी दिए ।
लामो समय महशुल नबुझाइ सेवा प्रयोग गर्नेमा जिल्ला प्रहरी कार्यालयले ३ लाख ५ हजार, क्षेत्रीय प्रशासन ४८ हजार ३ सय, राष्टिय अनुसन्धान १६ हजार २ सय गरी कुल ३ लाख १६ हजार ३ सय बुझाउन बाँकी रहेको छ ।
यसैगरी कारागारले ९८ हजार ८ सय, जिल्ला आयोजना कार्यालय ५१ हजार २ सय, मालपोत ३० हजार १ सय ८९, डिभिजन सडक २६ हजार १ सय ६४, इलाका बन २० हजार २ सय २८, बागबानी विकास कार्यालय पारिपात्ले ४१ हजार ९ सय ४१, जिल्ला अस्पताल २० हजार ६ सय १६ रुपैयाँ महशुल वापतको रकम बुझाएका छैनन् । सम्पूर्ण कार्यालयले हालसम्म ७ लाख ५५ हजा ७ सय ४२ रुपैयाँ टेलीकमलाई बुझाउन बाँकी रहेको छ ।
प्रहरी तथा प्रशासन कार्यालयले सुरक्षा व्यवस्थाको कारण जनाइ कामचलाउ टेलिफोन लाइनका लागि दवाव दिएपछि केही लाइन टेलिफोन वुधवारदेखि सुचारु गरिएको टेलिकम स्रोतले जनाएको छ । यस बाहेकका अधिकांश कार्यालय टेलिफोन सेवा विहिन रहेको छन् ।



