माओवादीकै कार्कर्ताहरुबाट केन्द्रीय समितिमा फरक मत राख्ने बाबुराम भट्टराई पक्षधर कार्यकर्ता बैतडीको कुवाकोटमा कुटिएका छन् । घाइतेहरुलाई अध्यक्ष पुष्पकमल दाहालका पक्षकाले उपचारका लागि अस्पत्ताल आउन समेत रोकेको छ ।
उत्तरी कुवाकोटमा संस्थापन पक्षका कार्यकर्ताले पार्टी भित्र फरक मत राखेको भन्दै जिल्ला कमिटी सदस्य सहित चार जनालाई कुटेका हुन् । आफ्नै कार्यकर्ताको कुटपिटमा परी सोमवार साँझ जिल्ला सदस्य तथा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष हरिलाल विश्वकर्मा, उनकी श्रीमती कविता विक, कैलाश प्राथमिक बिद्यालयका शिक्षक मानबहादुर बिक र नरेन्द्र बिक घाईते भएको माओवादी जिल्ला इन्चार्ज गोपाल चन्दले बताए ।
जिल्ला इन्चार्ज चन्दका पक्षमा लागेको भन्दै संबिधानसभा सदस्य नरेन्द्र कुँवर समुहका वाईसिएल जिल्ला अध्यक्ष शैलेन्द्र धानुक, माओवादी जिल्ला सदस्य बिर्खबहादुर कुँवर, मनिलाल विक लगायतले राति घरमै आएर कुटपिट गरेको घाईतेका परिवारले बताएका छन ।
चन्द बाबुराम भट्टराई र कुँवर पुष्पकमल दहाल पक्षका हुन् । यस अघि गत असोज १८ गतेको जिल्ला समितिको विस्तारित बैठकमा पनि दुवै पक्षबीच कुटाकुट भएको थियो
आक्रमणकारी समूहले घाईते बिक दम्पतीलाई उपचारका लागि अस्पताल आउन समेत रोकेको माओवादीले जनाएको छ । जिल्ला सेक्रेटरी प्रेमप्रकाश भट्टाले उपचार गर्न आउन नदिएको जानकारी आफूले पाएको बताए । मानबहादुर र नरेन्द्र भने भागेर जिल्ला अस्पताल आइपुगेका छन् ।
त्यसैगरी कुँवरले घटनास्थल जान लागेको प्रहरीलाई समेत फर्काएका छन् । मंगलबार बिहानै घटनाको जानकारी पाएपछि हाट प्रहरी चौकीबाट प्रहरी टोली पठाउन लाग्दा कुँवरे आन्तरिक समस्या बताउँदै जान नदिएको प्रहरी नायब उपरिक्षक सुकदेव न्यौपानेले बताए ।
गत असोजको विस्तारित बैठकमा पार्टीभित्र आर्थिक पारदर्शिता नभएको भन्दै दुई पक्षबीच कुटाकुट हुँदा चार जना घाइते भएका थिए ।