नेपाली काँग्रेसले ३५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आमसभा, र्‍याली, विचारगोष्ठी कार्यक्रमसहित देशव्यापीरूपमा मनाउने

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार  नेपाली काँग्रेसले ३५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आमसभा, विचारगोष्ठी, र्‍याली, रक्तदानलगायत सन्देशमूलक एवम् रचनात्मक कार्यक्रमसहित देशव्यापीरूपमा मनाउने भएको छ ।


काठमाडौँ उपत्यताकालगायत ७५ वटै जिल्लामा आफ्ना केन्द्रीय नेताहरूको उपस्थितिमा राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको सो पार्टीले जनाएको छ । यसक्रममा पार्टी सभापति सुशील कोइराला विराटनगर, नेता शेरबहादुर देउवा चितवन र पार्टी संसदीय दलका नेता रामचन्द्र पौडेल सप्तरी पुगिसक्नुभएको छ ।


त्यस्तै नेता भीमबहादुर तामाङ सर्लाही, महामन्त्री प्रकाशमान सिंह काभ्रेपलाञ्चोक, कोषाध्यक्ष चित्रलेखा यादव ललितपुर, पूर्वमहामन्त्री विमलेन्द्र निधि कास्की र नेता अर्जुननरसिंह केसी नुवाकोटको कार्यक्रममा खटिनुभएको काँग्रेसले जनाएको छ ।


पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री बिपी कोइराला राष्ट्रियता सङ्कटमा परेको भन्दै आफ्नो ज्यानको समेत बाजी राखेर आठवर्षे भारत निर्वासन त्यागी २०३३ साल पुस १६ गते स्वदेश र्फकेको स्मरणमा काँग्रेसले प्रत्येक वर्ष विभिन्न कार्यक्रमसहित राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।


संस्थापक नेता कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता तथा कार्यकर्ता स्वदेश र्फकने क्रममा तत्कालीन पञ्चायत सरकारले उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गिरफ्तार गरी बन्दी बनाएको थियो ।


तत्कालीन निर्दलीय पञ्चायत सरकारबाट जुनसुकै समय ज्यानको खतरा रहेका संस्थापक नेता कोइरालासहित शीर्ष नेताहरूलाई राजद्रोह, विमान अपहरणलगायतका सातवटा गम्भीर मुद्दा लगाएर केही समय नजरबन्दमा राखिएको थियो ।


राष्ट्रिय मेलमिलाप दिवसको अवसरलाई सदुपयोग गर्दै १२ औं राष्ट्रिय महाधिवेशनबाट पारित पार्टीको नीति तथा कार्यक्रमसहित शान्ति, लोकतन्त्र, नयाँ संविधानको सुनिश्चितता र एकताको सन्देश बोकेर कार्यकर्तामाझ काँग्रेस जान लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव वसन्त गौतमले जानकारी दिनुभयो ।


मुलुकमा पछिल्लो समयमा राजनीतिक पार्टीहरूबीच उत्पन्न द्वन्द्वका कारण राष्ट्रियतामाथि प्रश्नचिन्ह उठिरहेको सन्दर्भमा यस किसिमको दिवसले एकता, राष्ट्रिय सहमति र सहकार्यको वातावरण निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।