काठमाडौं – प्राप्त समाचार अनुसार तीन वर्ष पुगेलगत्तै तराई मधेस लोकतान्त्रिक पार्टी टुक्रिएपछि त्यस दलका नेताहरुले दोष भने अन्य नेताहरुलाई दिन थालेका छन् ।
बरिष्ठ उपाध्यक्ष बृषेसचन्द्र लालले आफ्नो पार्टी प्रधानमन्त्री बन्ने दौडमा रहेका एमाले अध्यक्ष झलनाथ खनालले फुटाएको आरोप लगाएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आइतबार कान्तिपुरलाई दिएको अन्तर्वार्तामा पनि पार्टी फुटको दोष एमालेलाई लगाएका थिए । ‘तमलोपा केही ब्यक्तिहरुको निहीत स्वार्थमा फुटेको हो । कसैको प्रधानमन्त्री बन्ने र कसैको तानाशाह बन्ने चाहनाले काम गरेको छ,’ रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै लालले भने ।
उपाध्यक्ष लालले प्रधानमन्त्रीले पार्टीको माग अनुसार पार्टी फुटाउने उद्योगमन्त्री महेन्द्रप्रसाद यादव र शिक्षा राज्यमन्त्री गोविन्द चौधरी पदमुक्त नगरे आफूहरुको आशंका प्रमाणित हुने चेतावनी दिए । तमलोपाका अध्यक्ष महन्थ ठाकुरको सिफारिमा यादव र चौधरी मन्त्री भएकोले अध्यक्षले फिर्ता बोलाउँदा पदमुक्त हुने दावी गर्दै प्रधानमन्त्रीले त्यो परम्परालाई कार्यान्वयन गर्नुपर्ने उनले बताए । उपाध्यक्ष लालले आफ्नो पार्टी पूर्वयोजना अनुसार नै फुटाइएको भन्दै आक्रोस व्यक्त गरे । ‘हाम्रो पार्टी आधा फुटाइएको छ । आधा घण्टामै पार्टीलाई मान्यता दिनेदेखि कुर्सी उपलब्ध गराउने सम्मको काम भएको छ । यो पूर्वयोजना अनुसार नभएको भए सम्भव थिएन,’ उनले भने । उद्योगमन्त्री यादवमा नैतिकता नभएको आरोप लगाउँदै उहनले नैतिकता भएको भए मन्त्री पदबाट राजिनामा दिएर अर्को पार्टी गठन गर्न चुनौति दिए ।
तमलोपा संसदीय दलका प्रमुख सचेतक बृजेशकुमार गुप्ताले पनि एमालेका अध्यक्ष झलनाथ खनालको योजनामा पार्टी फुटाइएको दाबी गर्दै यसमा पैसादेखि पदको लोभले पनि काम गरेको उल्लेख गरे । उनले ब्यवस्थापिका संसदको आउदो पुस २५ गतेको बैठकमा सबै कुरा स्पष्ट हुने जिकिर गरे ।



