सुडानस्थित शान्ति मिसन घोटाला छानबिन गर्न सरकारद्बारा ६ सदस्यीय छानबिन समिति गठन

काठमाडौं – प्राप्त समाचार अनुसार   सुडानस्थित शान्ति मिसनका लागि खटिएको नेपाल प्रहरीलाई एपीसी (आर्मड पर्सनल करिअर) खरिदमा भएको घोटाला छानबिन गर्न सरकारले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिलाई दस दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सुडानमा यथाशीघ्र सामाग्री खरिद गरी पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बिहान र साँझ बसेको बैठकमा धेरैजसो मन्त्रीले यसअघि मिसनका लागि साढे ४४ करोडको अत्यावश्यक सामान किन्दा ३० करोडभन्दा बढी भ्रष्टाचारमा संलग्न राजनीतिक, प्रशासनिक तथा प्रहरीको उच्च नेतृत्वमाथि कारबाही नगरी नयाँ कदम चाल्न नहुने अडान लिएपछि कुनै निर्णय हुन सकेको थिएन ।

राष्ट्रसंघीय सुडान मिसनले एपीसीबिनाका नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट -एफपीयू० लाई कुनै पनि बेला फर्काउन सक्ने चेतावनी दिएको सन्दर्भमा छोटो प्रक्रियाबाट अत्यावश्यक सामान किनेर पठाउने एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकिएको थियो ।

संसद्को राज्यव्यवस्था समितिको छानबिन समितिले प्रहरीको शान्ति मिसनका साढे ४४ करोड रुपैयाँको सामान खरिदमा करिब साढे तीस करोड भ्रष्टाचार भएको ठहर गरेको छ भने अख्तियारले छानबिन गरिरहेको छ । राज्यव्यवस्था समितिले नौ महिनाअघि नै सरकारलाई दस दिनभित्र डाफरमा ५ एपीसी, ६ वटा गाडीलगायत सामग्री पुर्याउन निर्देशन दिएको थियो ।