माओवादीद्बारा अनमिनको म्याद थप्न अझै पहल गर्न कङ्ग्रेस र एमालेसँग जोड

 

 


 


 



काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार माओवादीले अनमिनको म्याद थप्न अझै पहल गर्न कङ्ग्रेस र एमालेसँग जोड गरेको छ। प्रमुख तीन दलको बैठकमा उसले गरेको यस्तो जोड ती दुई दलले ठाडै अस्वीकार गरे। माओवादीले भने म्याद नथप्ने हो भने अनमिनले गरेको काम गर्न एउटा टीम बनाउने प्रस्ताव पनि अघि सारेको छ।

 

माओवादीको यो प्रस्तावबारे कङ्ग्रेसले पार्टीमा कुरा राखेर जवाफ दिने बताएपछि सबै दलले आ-आफ्ना दलमा कुरा राख्‍ने र चाँडै यसबारे निष्कर्ष निकाल्ने सहमति भएको माओवादी नेता नारायणकाजीले जानकारी दिए।

उनले भने- सत्ताधारी प्रमुख दलहरुले नयाँ सरकार गठनअघि नै अनमिन जाओस् भनेर संसद अधिवेशन नै ढिला बोलाए। तर पनि हामीले थप्न जोड दियौं। उनीहरु नमानेपछि अब अनमिनको अनुपस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल केन्द्रित भयो। अनमिनको विकल्पबारे धेरै सोचविचार गरेर अघि बढ्नुपर्ने र हतार गर्न नहुने भनाइ आफूहरुले राखेको पनि उनले जनाए।

त्यसैगरी एमाले नेता भीम रावलले अनमिनको अनुपस्थितिमा उसले गरेको काम विशेष समितिले गर्ने वा अन्य कुनै विकल्प तयार गर्ने भन्नेबारे अध्ययन गर्ने सल्लाह भएको बताए। कङ्ग्रेस नेता रामचन्द्र पौडेलले भने टीम गठनबारे पार्टीमा कुरा राखेर सल्लाह गर्ने बताए।