काठमाडौ – प्राप्त समाचार अनुसार नेपाली काङ्ग्रेसले आफ्ना प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको विपक्षमा एमालेले मतदान गरे गठबन्धन तोडेर सत्ताबाट बाहिरिने चेतावनी दिएको छ ।
प्रधानमन्त्री चुनाव बारे आज बिहान भएको दुई पार्टीका शीर्ष नेताहरुबीचको छलफलपछि काङ्ग्रेस सभापति सुशील कोइरालाले एमालेले विपक्षमा मतदान गरेमा पर्सिबाटै पार्टीका सबै मन्त्रीलाई सरबारबाट फिर्ता बोलाउने बताउनुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
पुस २८ गते हुने चुनावमा एमालेले प्रधानमन्त्रीका एक्ला उम्मेद्वार पौडेलको विपक्षमा मतदान गर्ने सम्भावना बढेपछि काङ्ग्रेसले यस्तो चेतावनी दिएको हो । काग्रेसको यस्तो चेतावनी आएपछि नेकपा एमालेले आजै बस्ने स्थायी समितिको बैठकमा छलफल गर्ने बताएको छ ।
एमाले नेता भरतमोहन अधिकारीले पौडेलको उम्मेद्वारीको विपक्षमा मतदान गर्ने केन्द्रीय समितिले औपचारिक निर्णय गरिसकेकाले निर्णय परिवर्तन हुन नसक्ने बताउनुभयो । एमाले स्थायी समितिको बैठकपछि आजै फेरि काङ्ग्रेस र एमालेबीच छलफल हुने भएको छ ।
बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र प्रभावशाली नेता केपी ओली तथा कागे्रसका तर्फवाट सभापति कोइराला, संसदीय दलका नेता पौडेल, केन्द्रीय सदस्य कृष्ण सिटौला, मिनेन्द्र रिजाल लगायत हुनुहुन्थो । बैठकपछि दुबैदलका शीर्ष नेताहरुले संचारकर्मीलाइ प्रतिक्रिया दिन मानेनन् ।
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खानालबीच पनि आजै प्रधानमन्त्री चुनाव र सत्ता समीकरणबारे छलफल भएको छ ।
तीन दलको बैठकअघि भएको माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको प्रधानमन्त्री निर्वाचन र राष्ट्रसंघीय नियोग अन्मिनको अनुपस्थितिमा संभावित विकल्पवारे छलफल भएको थियो । बैठकपछि एमाले अध्यक्ष खनालले अन्मिनको विकल्पबारे छलफल भएको जानकारी दिनुभयो ।
उहाँले संभावित विकल्पवारे छलफलगर्न एउटा कार्यदल गठन गर्ने सहमति भएको बताउनुभयो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने प्रधानमन्त्रीको निर्वाचनमा रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्ने सहमति भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीमा एमाले अध्यक्ष खनाललाइ समर्थन गर्ने पूरानो सहमति भएपनि फेरीपनि सहमति गर्न सकिने संकेत गर्नुभयो । भेटमा एमालेका तर्फवाट भरतमोहन अधिकारी पनि सहभागि हुनुहुन्थ्यो ।