प्रधानमन्त्री उम्मेद्‌वार कांग्रेस रामचन्द्र पौडेलको विपक्षमा बहुमत पुगे उम्द्‌वारी खारेज हुने सभामुखको भनाइ

– राजेन्द्र फुयाल

 

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार सभामुख सुवास नेम्वाङ्गले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेद्‌वारी फिर्ता लिएर प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रियामा सहमति गर्न तीन दलका शीर्ष नेताहरुसंग आग्रह गरेका छन् । नयाँ संविधानका विषयवस्तुमा सहमति खोज्न सोमबार विहान आफ्नो कार्यकक्षमा भएको अनौपचारिक बैठकमा सभामुख नेम्वाङ्गले ‘आफैले ब्यर्थ भनेको निर्वाचन’ मा जानुको साटो सहमतिमा नयाँ प्रक्रिया सुरु गर्नु उपयुक्त हुने बताएका हुन् ।

संसद सचिवालय स्रोतका अनुसार माओवादी र एमालेले विपक्षमा मतदान गरेको अवस्थामा आफुले पौडेलको उम्मेद्वारी अन्त्य भएको घोषणा गर्नुपर्ने अवस्था आउने उल्लेख गर्दै नेम्वाङ्गले त्यसअघिनै सहमति गर्न माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता पौडेल र एमाले अध्यक्ष खनालले सरकार निर्माणका विषयमा आफुहरु सम्पर्क र संवादमा रहेको जवाफ दिएका थिए ।

‘उहाँको विपक्षमा बहुमत पुग्यो भने पुन अर्को निर्वाचनका लागि तिथि घोषणा गर्न मिल्दैन,’ नेम्वाङ्गको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘लोकतन्त्र, शान्ति र संविधानका पक्षमा छौं भन्नेले यस्तो अवस्था आउन दिनु हुँदैन ।’

सभामुखले उम्मेद्‌वारी प्रक्रिया अन्त्य भएको घोषणा गर्नुपर्ने अवस्था आउनु ‘राम्रो नहुने’ उल्लेख गर्दै उनले त्यसअघिनै सहमति गरी जनतालाई सकारात्मक सन्देश दिन आग्रह गरे । ‘सकेसम्म मतदानमा जानु अघिनै उम्मेद्‌वारी फिर्ता गराउनुहोस, त्यसले सहमतिको वातावरण बनाउँछ,’ नेम्वाङ्गको आग्रह थियो । मतदानमै गएको अवस्थामा पौडेको विपक्षमा बहुमत पुग्ने निश्चित जस्तै छ । त्यस्तो अवस्थामा पनि सभामुख आफैले उम्मेद्वारी अन्त्यको घोषणा नगरी फिर्ता लिने अन्तिम अबसर दिने पक्षमा छन् । ‘परिणाम आएपछि पनि एक पटक फिर्ता लिने अवसर दिन सकिन्छ,’ नेम्वाङ्गको भनाई उदृत गर्दै उनी निकट एक नेताले भने, ‘त्यतिबेला पनि फिर्ता नभए उम्मेद्‌वारी खारेज भएको घोषणा गर्नुको विकल्प छैन । विपक्षमा बहुमत पुगेपछिको अवस्थामा नयाँ प्रक्रिया सुरु भएको घोषणा गर्नुको विकल्प छैन ।’

निर्वाचनमा जानु अगावै उम्मेद्वारी फिर्ता लिएमा संसद नियमावली समेत संसोधन गरी प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया सुरु गर्न सजिलो हुने नेम्वाङ्गको धारणा छ । ‘पुस २८ गते जारी निर्वाचन प्रक्रिया अन्त्य हुन्छ,’ उनले भने-  ‘त्यस दिन कि संसदले प्रधानमन्त्री चुन्छ, कि नयाँ प्रक्रियाको लागि ढोका खोल्छ ।’