काठमाडौँ – संचारमाध्यमहरुले जनाए अनुसार संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)ले गर्दै आएको काम अब सेना समायोजन विशेष समितिले गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले सरकार र एनेकपा -माओवादी)बीच आज भएको तीनबुँदे सहमतिका आधारमा अनमिनको बहिर्गमनपछि भोलिदेखि उसले गर्दै आएको काम सो समितिको जिम्मा दिने निर्णय भएको हो ।
आजदेखि औपचारिक रुपमा अनमिन बाहिरिएकाले अब शिविर र शिविरमा रहेका हतियारको अनुगमन तथा रेखदेखको जिम्मा सो समितिले पाएको समितिका सदस्य वर्षमान पुनले जानकारी दिनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एकीकृत नेकपा (माओवादी) सबैबाट २/२ गरी आठ सदस्यीय अनुगमन टोलीले भोलिदेखि सातवटा माओवादी शिविर र नेपाली सेनाको छाउनी ब्यारेकको अनुगमन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
अनमिनसँग रहेका उपकरण तथा सामग्री सरकारलाई हस्तान्तरण गर्न अनमिनलाई लागि आग्रह गर्ने र हाल अनमिन रहेको नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष समितिको कार्यालय राख्ने निर्णय भएको सदस्य पुनले जानकारी दिनुभयो ।
बैठकले नेपालको शान्तिप्रक्रियामा अनमिनले पुर्याएको सहयोगका लागि धन्यवाद दिने निर्णय पनि गरेको छ ।