परराष्ट्र मन्त्रालयले बिमा कम्पनीले मृतकका परिवारलाई दिएको क्षतिपूर्ति रकम सम्बन्धमा साउदी अरबका लागि नेपाली राजदूतसँग स्पष्टीकरण माग्ने

सुरेन्द्र पौडेल,

 

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार परराष्ट्र मन्त्रालयको प्रशासन शाखाले बिमा कम्पनीले मृतकका परिवारलाई दिएको क्षतिपूर्ति रकम आफ्नो निजी खातामा राखेको सम्बन्धमा साउदी अरबका लागि नेपाली राजदूत हमिद अन्सारीसँग स्पष्टीकरण माग्ने भएको छ।

 

प्रशासनले स्पष्टीकरण पत्र आइतबार राजदूतका नाममा पठाउने परराष्ट्र स्रोतले नागरिकन्युजलाई बतायो। यसअघि


सामान्य सोधपुछका निम्ति पठाइएको पहिलो पत्रको चित्तबुझ्दो जवाफ नआएपछि परराष्ट्रले दोस्रो पत्र केही दिन अगाडि साउदी राजदूत अन्सारीलाई पठाएको थियो। एक हप्ता बित्न लाग्दा पनि दोस्रो पत्रको जवाफ नआएपछि परराष्ट्र प्रशासनले स्पष्टिकरण लिन लागेको हो।


‘पहिलो र दोस्रो पत्र परराष्ट्रले दूतवासलाई सम्बोधन गरेर लेखेको थियो,’ परराष्ट मन्त्रालय स्रोतले भन्यो, ‘पहिलो सामान्य सोधपुछ पत्रको चित्तबुझ्दो जवाफ नआएको र दोस्रो पत्रको जवाफै राजदूतले नपठाएपछि प्रशासनले सिधै स्पष्टीकरण लिन लागेका हौं।’


डेढ वर्ष अघि बिमा कम्पनीले साउदीमा मृत्यु भएका नेपाली कामदारका पीडित परिवारलाई बुझाएको क्षतिपूर्ति रकम कस्तो अवस्थामा र कुन खातामा छ भनि परराष्ट्रले सोधेको पहिलो पत्रको जवाफमा राजदूत अन्सारीले पैसा आफूसँगै रहेको स्वीकारेका थिए। तर उनले सो रकम कुन बैंकमा कस्तो अवस्थामा छ भन्ने कुरा उल्लेख गरेका थिएनन्। मृतकको क्षतिपूर्ति रकम दूतावासको खाता बाहेक अन्यत्र राख्न पाइँदैन। सर्वसाधारणको पैसा आफ्नै खातामा राखेर चित्त बुझ्दो जवाफ नपठाएपछि परराष्ट्रले एक साता अघि फेरि दोस्रो पत्र पठाएको थियो।


‘राजनीतिक शत्तिको आड लिँदै जवाफ नै नपठाएपछि प्रशासनले स्पष्टीकरण लिने निर्णय गरेको हो,’ स्रोतले भन्यो।


साउदीमा मृत्यु भएका झापाका रमेश सुवदी, सर्लाहीका सन्तलाल तामाङ र गुल्मीका हर्कवहादुर कार्कीका आफन्तले बिमा कम्पनीले क्षतिपूर्ति रकम दूतावासलाई बुझाएको डेढ वर्ष बित्दा पनि नपाएपछि राजदूत अन्सारीले क्षतिपूर्ति रकम अनियमितता गरेको बाहिर आएको थियो।


पीडितका आफन्तका अनुसार सुवेदीको मृत्यु सन् २०६६ जेठ २२ गते भएको थियो। साउदीस्थित अदालतले सुवेदीका परिवारलाई एक लाख रियाल (बिस लाख रुपैयाँ) क्षतिपूर्ति दिने निर्णय गरेपछि पाहुनिया बिमा कम्पनीले उक्त रकम बराबरको चेक त्यहाँस्थित नेपाली दूतावासलाई बुझाएको थियो। बिमा कम्पनीले दूतावासलाई बुझाएको ४९६५५९ नम्वरको चेक फोटोकपी गरी फ्याक्स मार्फत पिडित परिवारलाई उतीखेरै पठाएको थियो। २०६६ साउन ३२ गते दूतावासले बुझेको उक्त चेकमा राजदूत अन्सारीले हस्ताक्षर समेत गरेका छन्।


कार्कीका आफन्तले पनि राजदूतलाई क्षतिपुर्ति मार्फत बिमा कम्पनीले ६ महिना अगाडि बुझाएको १४ हजार रियाल (२ लाख ८० हजार रुपैयाँ) नदिएको आरोप लगाएका छन्। २०६५ वैशाख १६ गते मृत्यु भएका तामाङ्का आफन्तले भने राजदूत अन्सारीले के कति क्षतिपूर्ति रकम बिमा कम्पनीले बुझाएको छ त्यसको जानकारी नै दिन नमानेको आरोप लगाएका छन्।


‘क्षतिपूर्ति वापत दूतावासमा आएको रकम तुरून्त जम्मा गरेर मन्त्रालय पठाउनु’ भन्ने व्यहोरा सहितको पत्र आइतबार परराष्ट्र सचिव मदन भट्टराईले नै पठाउन लागेका हुन्।


यस्तै क्षतिपूर्ति रकम अनियमितता गरेको शंकामा अख्तियार अनुसन्धान आयोगले परराष्ट्र मन्त्रालय र राजदूत अन्सारीलाई छुट्टा छुट्टै पत्र काटेको छ। आयोगले पत्र पाएको एक हप्ताभित्र जवाफ दिन भनेको छ।


‘राजदूतले क्षतिपूर्ति रकम निजी खातामा राखेको समाचार अखबारमा आएपछि वास्तविकता जान्नका लागि हामीले परराष्ट्र र राजदूत अन्सारीका नाममा पत्र काटेका छौं,’ आयोगका प्रवक्ता इश्वरीप्रसाद पौड्यालले नागरिकसँग भने, ‘रमेश सुवेदी र सन्तरामा तामाङको क्षतिपूर्ति रकम निजी खातामा राखेको बुझिएको हुँदा यस सम्बन्धमा यथार्थ जानकारी पत्र बुझेको एक साता भित्र जवाफ पठाउन भनिएको छ।’ जवाफ चित्त बुझ्दो नआएमा र आर्थिक अनियमितता भएको देखिएमा राजदूतलाई कारवाही अगाडि बढाउने उनले बताए।


गत आइतबार मात्र व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको बैठकले अन्सारीले मृतकको क्षतिपूर्ति निजी खातामा राखेको भन्ने सम्बन्धमा छानविन अगाडि बढाउन र दोषी देखिए फिर्ता बोलाउन परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाई निर्देशन दिएको थियो।