काठमाडौं – प्राप्त समाचार अनुसार माओवादीको प्रशिक्षणमा उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दस्ताबेज पढ्न नदिएको भन्दै बैठक बहिस्कार गरेको केहीबेरपछि उनकी पत्नी नेवाः राज्य समिति सहइञ्चार्ज हिसिला यमीलाई प्रशिक्षणमा बोल्न रोक लगाइएको छ ।
अध्यक्ष पुष्पकलम दाहालले प्रशिक्षण दिइसकेपछि यमीले भट्टराईले बैठक बहिस्कार गरेको सम्बन्धमा बोल्न दिन समय मागेपछि उनलाई बोल्न नदिएको उनले बताइन् । त्यसपछि मञ्चमा गएर आपत्ति जनाउन लाग्दा माइक बन्द गरिएको थियो । नेवाः राज्य समिति इञ्चार्ज हितमान शाक्यले माइकको लाइन काटिदिएपछि यमीले ‘आन्तरिक जनवाद जिन्दाबाद, एक हातले ताली बज्दैन’ भन्दै बैठक बहिस्कार गरेको जानकारी दिइन् ।
‘म मञ्चमा गएर आन्तरिक जनवादबारे बोल्न लाग्दा बोल्न दिइएन’ उनले भनिन्, ‘सहमतिको कुरा गर्ने अनि अर्काको विचार निषेध गरिएपछि म लगायत धरैले बैठक बहिस्कार गर्यौं ।’



