पुनरावेदन अदालत बाग्लुङद्बारा पाँच प्रहरीलाई विभागीय कारबाही गर्न आदेश

बाग्लुङ – संचारमाध्यमहरुले जनाए अनुसार   पुनरावेदन अदालत, बाग्लुङले पाँच प्रहरीलाई विभागीय कारबाही गर्न आदेश दिएको छ। नियन्त्रणमा लिएर प्रहरीले कुटपिट गरेको भन्दै पाखापानी-१ म्याग्दीका कमल पुनले अदालतमा दायर गरेको रिटमा २० हजार क्षतिपूर्तिसहित घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न सोमबार आदेश दिइएको हो।

पुनले अस्थायी प्रहरी पोस्ट पर्वत बेनीमा कार्यरत प्रहरी असई नवराज पौडेल, हवल्दार नीलकण्ठ पौडेल, जवान साजन चौधरी, बलबहादुर गुरुङ र धन बहादुर विकलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

अदालतको आदेशपछि असई पौडेल, हवल्दार पौडेल र जवान चौधरी, गुरुङ र विकलाई अधिकृतमा जागिरबाट निलम्बनसम्मको कारबाही हुन सक्ने छ।

पुनरावेदन अदालतका मुख्य न्यायाधीश हरिबाबु भट्टराई र कुमार पोखरेलको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो। पुनले वकालत मञ्च धौलागिरीको सहयोगमा २०६६ कात्तिक १७ गते मुद्दा दायर गरेका थिए।

२०६५ असार १ गते राति घरपारि साथीसँग भएको सामान्य झगडामा प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गर्दा हात भाँच्चिएको पुनले बताए। ‘साथीसँग बस्दा भएको सामान्य झगडामा नियन्त्रणमा लिएर कुटपीट गरेर प्रहरीले हात भाँचिदियो,’ पुनले घटनालाई सम्झँदै भने, ‘अहिले अदालतले न्याय दिँदा खुसी लागेको छ।’

यसअघि सो घटनामा राष्ट्रिय मानवअधिकार आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाही र पीडितलाई क्षतिपूर्ति दिन निर्देशन दिएको थियो। घटनामा संलग्न पौडेलबाहेक अन्य प्रहरी प्रहरी प्रधान कार्यालय काठमाडौमा कार्यरत छन्।