काठमाडौं: भारतीय विदेश सचिव निरुपमा राव राजनीतिक भेटघाटमा व्यस्त

Click on the slide!

 

– भारतीय विदेश सचिव निरुपमा रावले संसद्का सभामुख सुवासचन्द्र नेम्वाङलाई भारत भ्रमणका लागि निम्ता दिएकी छिन्। नेपालको तीन दिने भ्रमणमा मङ्गलबार नेपाल आएकी रावले सभामुख नेम्वाङलाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेट गरी उक्त निम्ता दिएकी हुन्।

 

काठमाडौं  – नेपाल भ्रमणमा आएकी भारतीय विदेश सचिव निरुपमा राव मंगलबारदेखि राजनीतिक भेटघाटमा व्यस्त भइन् । उनले नेपाल आएलगत्तै राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल र सभामुख सुवासचन्द्र नेम्वाङसँग भेट गरिन् । भेटमा रावले राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको बहिर्गमनपछि माओवादी लडाकुको रेखदेख र अनुगमनबारे चासो प्रकट गरिन् ।

प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, भारतीय सहयोगमा सञ्चालन हुन लागेका विभिन्न अयोजना तथा शान्ति प्रक्रिया र संविधान निर्माणमा भएको पछिल्लो प्रगतिका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

त्यसैगरी विगतमा भएको वीरगञ्जमा सुरक्षा चेकपोष्ट राख्ने, रेलवे सर्भे अगाडि बढाउने तथा दोहोरो कर प्रणाली अन्त्य गर्ने लगायतका विषयलाई तिब्रताका साथ अगाडि बढाउनेबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्रीले भारतले सहयोग गर्ने आयोजनाहरु अगाडि बढाउने सन्दर्भमा देखिएका प्राविधिक तथा प्रशासनिक समस्या अन्त्य गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिने बताएका थिएभने त्यसै सन्दर्भमा रावले भारतका तर्फबाट काम अगाडि बढाउने विश्वास व्यक्त गरेकी थिइन् ।

भेटमा विदेश सचिव रावले अनमिनको फिर्तीपछि नेपालको शान्ति प्रक्रिया र राजनीतिक अवस्थाका सम्बन्धमा पनि जिज्ञाशा राखेका थिए । जवाफमा प्रधानमन्त्रीले माओवादीका लडाकुहरु विशेष समिति मातहत ल्याउने सहमति भइसकेको र आगामी शनिवार एक औपचारिक समारोहबीच लडाकुहरु समिति मातहत आएको घोषणा गरिने अवगत गराएका थिए ।

साथै राष्ट्रिय सहमतिका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढिरहेको बताउँदै त्यस प्रक्रियाबाट टुंगो नलागे बहुमतीय प्रक्रियाबाट अगाडि बढिने पनि प्रधानमन्त्रीले बताए ।

विदेश सचिव रावले नेपालका राजनीतिक दलहरुबीच हुने सहमतिलाई भारतले विगतदेखि नै सहयोग र समर्थन गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।

यसअघि रावले सभामुख नेम्बाङसँग पनि संविधान निर्माण र शान्ति प्रक्रियाबारे चासो प्रकट गरेकी थिइन् ।  भेटमा उनले नेपाली युवा सभासदहरुबाट आफू प्रभावित भएको भन्दै प्रशंसा गरेकी थिइन् । मध्यान्ह नेपाल भ्रमणमा आएलगत्तै नेम्बाङसँग अपरान्ह भएको भेटमा रावले युवा सभासदहरुको हालै भएको भारत भ्रमणबाट आफू प्रभावित रहेको बताएकी हुन् । मंसिर पहिलो साता प्रमुख सात दलका ११ युवा सभासद् भारत भ्रमणमा गएका थिए ।

सभामुखसँग भएको भेटमा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा छलफल भएको भारतीय विदेश सचिव रावले जानकारी दिइन् । उनले सभामुख नेम्वाङलाई समय मिलाएर छिट्टै भारत भ्रमणको निम्तो दिएकी छन् ।