सरकार निर्माण र नियमावलीमा सहमति जुटाउन प्रमुख तीन दलको आज बसेको बैठक निष्कर्षविहीन

काठमाडौं  – काठमाडौंबाट प्राप्त समाचार अनुसार  प्रमुख तीन दलबीच बिहीबार बसेको बैठक कुनै सहमति नगरी टुङ्गिएको छ । सरकार निर्माण र संसदको नियमावली संशोधनका विषयमा दलहरुबीच छलफल भएको थियो । भोलि(शुक्रबार) फेरि बैठक बस्ने सहमति बनेको छ ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा माओवादी,कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच बैठक बसेको थियो । राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय सीमा सकिन लागेको बेला दलहरु छलफलमा जुटेका छन् । राष्ट्रपतिले दिएको समय सीमा भोलि(शुक्रबार) सकिदैंछ । सरकार निर्माणका लागि शान्ति प्रक्रियासंग जोडिएका विषयमा सहमति गर्नु पर्ने भएकाले भोलि बिहान बस्ने बैठकमा दलहरुले ठोस धारणा पेस गर्ने सहमति भएको छ । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले संसद नियमावली संशोधनका विषयमा सहमति नभएपनि छलफल जारी रहेको बताए । सरकार निर्माणमा आ-आफ्नै दावी गरिरहेका तीन दलबीच नियमावली संशोधनमा पनि सहमति हुन सकेको छैन ।

शान्ति र संविधान निर्माण सबैको साझा काम भएकाले त्यसलाई पूर्णता दिन सहमतीय सरकारको आवश्यकता रहेको एमाले अध्यक्ष झलनाथ खनालले बताए । उनले शान्ति र संविधानलाइ केन्द्र बिन्दुमा राखेर छलफलको आवश्यकता रहेको उल्लेख गरे ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्ष मोहन वैद्य कांग्रेस सभापति सुशिल कोइराला,नेताहरु शेरबहादुर देउवा,रामचन्द्र पौडेल,एमालेबाट अध्यक्ष झलनाथ खनाल,नेताहरु केपी ओली र बामदेव गौतमको उपस्थिति रहेको थियो ।