प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठनका लागि माघ १२ गते सम्मको अवधि थप

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार   राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि लिखित अनुरोध भएकाले प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठनका लागि यही माघ १२ गते बुधबारसम्मको अवधि थप गरेका छन्।

 

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति यादवले थप अवधिभित्र राजनीतिक दलहरु आपसी सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्न सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्।


राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम यही माघ ७ गतेसम्म राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका थिए। यसअघि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने २८ राजनीतिक दलको आजै बसेको बैठकले सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिसमक्ष पाँच दिन समयावधि थप गर्न अनुरोध गर्ने निर्णय गरेको थियो। रासस