सरकारका प्रवक्ताद्बारा शान्ति प्रक्रिया निश्कर्षमा नपुगुन्जेलसम्म विद्रोही र सरकारको नेतृत्व माओवादीले गर्न नसक्ने जिकिर

काठमाडौं –  प्राप्त समाचार अनुसार  सरकारका प्रवक्ता शङ्कर पोखरेलले एकीकृत नेकपा माओवादीले शान्ति प्रक्रिया निश्कर्षमा नपुगुन्जेलसम्म सरकारको नेतृत्व गर्न नसक्ने बताएका छन्। उनले आलोपालो नेतृत्व गर्ने प्रणाली सबैभन्दा उत्तम हुने धारणा पनि राखे।

 

प्रमुख तीन दलका शीर्ष नेताहरुले सबैको नेतृत्वको सम्भावनाको ढोकालाई खुल्ला राख्‍ने सहमति गरेको अवस्थामा एमालेका प्रभावशाली नेतासमेत रहेका मन्त्री पोखरेलको यस्तो भनाई आएको हो।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्रोही पक्ष र राज्य पक्ष दुवै एकै हुँदा शान्ति प्रक्रिया असन्तुलित हुने ठोकुवा गरे। त्यस्तो अवस्था माओवादी स्वयमका लागि पनि हितकर नहुने दाबी गर्दै उनले भने- शान्ति प्रक्रिया जारी रहँदा माओवादीले सरकारको नेतृत्व गरे लडाकुको अपेक्षा बढेर जान्छ, जसलाई  सम्बोधन गर्न राज्यले सक्दैन। यस्तो अवस्थामा शान्ति प्रक्रिया निश्कर्षमा पुग्न सक्दैन।

दलहरुबीच सहमतिका लागि आलोपलोमा नेतृत्व गर्ने प्रणाली अहिलेका लागि सबैभन्दा उपयुक्त विकल्प भएको भन्दै उनले आलोपालो प्रणालीमा एमालेले पहिलो नेतृत्वको दाबी नगर्ने, अन्तिम नेतृत्व पनि स्वीकार हुने स्पष्ट पारे।