स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा एमालेका अध्यक्षको माग

काठमाडौ  – नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले स्थानीय निकायको गठन हुन नसक्दा मुलुकको विकास निर्माणको काम अनिश्चित भएकाले छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।


स्थानीय निकाय कर्मचारी सङ्घ नेपालको आज यहाँ सुरु भएको पाँचौ वार्षिकोत्सवमा सम्बोधन गर्दै अध्यक्ष खनालले विगत आठ वर्षदेखि स्थानीय निकायको गठन हुन नसक्दा स्थानीय क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो- स्थानीय निकायमा भइरहेको भ्रष्टाचार रोक्न सरकारले छिटो स्थानीय निकायको गठन गर्नुपर्छ ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जनताको पहिलो सरकार भनेको स्थानीय निकाय भएकाले यसलाई बलियो बनाउनुपर्ने बताउँदै सङ्घीयताका नाममा स्थानीय निकायलाई कमजोर बनाउन नहुने बताउनुभयो ।


निजामती कर्मचारी सङ्गठन नेपालका अध्यक्ष भोला पोखरेलले यतिबेला मुलुकका निजामती कर्मचारीले थुप्रै चुनौतिबीच आफ्नो कर्तव्य पूरा गरिरहेकाले उनीहरुको पूर्ण सुरक्षाका लागि राज्यले उचित व्यवस्था गर्न माग गर्नुभयो ।


आयोजक संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पेशागत महासङ्घ नेपालका महासचिव प्रेमल खनाल, स्थानीय निकाय कर्मचारी युनियनका अध्यक्ष गङ्गाधर गौतमलगायतका वक्ताले अब बन्ने संविधानमा निजामती कर्मचारीको अधिकार सुनिश्चित हुनुपर्ने आवाज उठाउनुभयो ।