दोलखा – नेपाली संचारमाध्यमहरुमा जनाइए अनुसार स्वेदेशी लगानीमा बन्ने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको शिलान्यास कार्यक्रम स्थगित भएको छ । माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले गर्न लागेको शिलान्यास विथोल्ने चेतावनी दिएपछि कार्यक्रम स्थगित भएको हो ।
जिल्लास्थित राजनीतिक संयन्त्रलाई जानकारी नगराई, तामाकोशी संचालक समिति बोर्डको निर्णय नै नगराइ गर्ने भनिएको शिलान्यास कार्यक्रम जनताले विथोल्ने सक्ने र त्यसको जिम्मेवारी सरकारले लिने चेतावनीसमेत माओवादीले दिएको थियो ।माओवादी जिल्ला पार्टी र दोलखाका सभासदहरुले उद्घाटन रोक्न शक्ति परिचालन गर्न परे पनि पछि नहट्ने संकेत दिए । काम चलाउ सरकारका प्रधानमन्त्री नेपालले माघ १३ गते बिहीबार आयोजनाको शिलान्यास गर्ने कार्यक्रम थियो ।
पार्टी इन्चार्ज कृष्ण भुजेल, जिल्ला सेक्रेटरी हिमाल, सभासद्हरु देवी खड्का र हेम श्रेष्ठ उपस्थित पत्रकार सम्मेलनमा तामाकोसीको नाममा दर्ता भएको एनजिओ खारेजी गर्न पहल गर्ने जानकारी दिए । एनजिओ दर्ता गराउदा आफ्नो पार्टी र सभासदलाई समेत थाहै नदिइ आबद्ध गराएको प्रति आक्रोश व्यक्त गर्दै तामाकोसीबाट लाभ लिन बनेको एनजिओमा संलग्न पार्टी केन्द्रीय सदस्य जीतबीर लामालाई फिर्ता बोलाउन केन्द्रले निर्देशन दिइसकेको जानकारी समेत पत्रकार भेटमा गराएका छन् ।



