बल्खुद्बारा समायोजनअघि माओवादी नेतृत्व स्वीकार गर्न नसकिने ठहर

काठमाडौं – काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार माओवादी लडाकु समायोजनपछि उसको नेतृत्वमा सरकार स्विकार्य रहेको एमालेले जनाएको छ। पार्टी मुख्यालय बल्खुमा सोमबारको बैठकले सेना समायोजन, शान्तिप्रक्रिया, संविधान निर्माणको विषय नटुंगिएकाले माओवादीको नेतृत्व भने स्वीकार गर्न नसकिने ठहर गरेको हो। बैठकले लडाकु विशेष समितिलाई बुझाएकोमा धन्यवाद दिएको छ।

 

सहमतीय सरकार नेतृत्व कसले गर्ने भन्ने विषय तीन दलको सहमतिमा हुनुपर्ने र मुख्य जोड शान्ति, संविधान निर्माणमा दिने अघिल्लो केन्द्रीय कमिटी बैठकलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ। सरकारविहीनताको अवस्थालाई लम्ब्याउन नहुने एमाले ठहर छ।

‘हाम्रो पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकले शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा निर्णय गरिसकेको र राष्ट्रपतिले सरकार निर्माण गर्नको लागि दिएको समयभित्र सहमति कायम गर्न अधिकतम पहल गर्ने निर्णय गर्‍यो’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

‘माओवादीका लडाकुलाई विशेष समिति मातहतमा राख्ने निर्णय भएकोमा आजको बैठकले त्यसको स्वागत गर्दै शान्तिप्रक्रियाको सम्बन्धमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको ठहर गर्‍यो’, केन्द्रीय सचिवालय सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘माओवादी नेतृत्वले जुन किसिमबाट उसका लडाकुलाई हस्तान्तरण गर्ने निर्णय गर्‍यो त्यसलाई हामीले सकारात्मक दिशा मानेका छौं। तर, अहिले नै उसको नेतृत्वको सरकारमा जाने भन्ने निर्णय गरेका छैनौं’, स्थायी समिति सदस्य तथा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले भने। राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आग्रह गरेकाले त्यसलाई मध्यनजर राखी शान्ति र संविधान निर्माणमा सहमति जुटाउन पहल लिने निर्णय पार्टीले गरेको उनले बताए।