काठमाडौंबाट प्राप्त समाचार अनुसार नेपाली कांग्रेसका सभापती सुशील कोइरालाले अव बन्ने सरकारको नेतृत्व आफ्नो पार्टीलै नै पाउनु पर्ने माग दोहोर्याएका छन्। एकिकृत माओवादी र एमालेले सरकार चलाइसकेका कारण अब नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन हुनु पर्ने उनको भनाई छ।
‘दुबै पार्टीले नेतृत्व गरिसकेका छन्’, बाराको सिमरामा आइतबारबाट सुरु सिमरा गोल्ड कप कार्यक्रमको उद्घाटन गर्न आएका कोइरालाले भने -‘ अव काग्रेसको पालो आएको छ।’ उनले नेपाली काग्रेसबाट प्रधानमन्त्रीको रुपमा रामचन्द्र पौडेललाई प्रस्तुत गर्ने उनले बताए।
‘हाम्रो विधानमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने उल्लेख छ’, उनले भने -‘ उनको विकल्पको खोजी गरेका छैनौ।’
फुटबल खेलको उद्घाटन गर्दे कोइरालाले नेताहरुमा पनि खेलाडीको जस्तै खेल भावना रहनु पर्ने बताए। ‘नेतामा पनि ‘स्पोर्टसम्यानसिप स्प्रीट’ हुनु पर्छ’, उनले भने -‘ हार जितलाई सहज स्वीकार गर्न सक्नु पर्छ।’ अहिलेसम्म सरकार बन्न नसक्नुमा माओवादी बाधक रहेको बताउँदै कोइरालाले शान्ति प्रकृया टुङगोमा नपुगेसम्म उसको नेतृत्व स्वीकार हुन नसक्ने बताए।