– परियोजना सुरु गरिने जिल्लामा ओखलढुङ्गा, खोटाङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, अछाम, डाटी, डडेलधुरा, बझाङ र बैतडी रहेका छन्।
काठमाडौं – प्राप्त समाचार अनुसार नेपालका २० विकट पहाडी जिल्लामा खाद्य सुरक्षा तथा आय वृद्धि गर्ने उद्देश्यले अमेरिकी विकास नियोग (युएसएआइडी) र स्वीस विकास नियोग (एसडिसी) ले संयुक्त रुपमा चार वर्षे परियोजना सुरु गरेका छन्। विशेषगरी गरिव र उपेक्षित ३५ हजार ग्रामीण परिवारलाई लक्षित गरी परियोजना सुरु गरिएको सोमबार काठमाडौं स्थित अमेरिकी दूतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।नेपाल सरकारको सहयोगमा अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रद्वारा कार्यान्वयन गरिने यो परियोजनाको बजेट ५६ लाख ३० हजार अमेरिकी डलर (झण्डै ३९ करोड ४१ लाख रुपैयाँ) रहेको छ। ‘पहाडी क्षेत्रमा मकै बीउको राष्ट्रिय आवश्यकता कम्तीमा ३० प्रतिशत पूरा गर्न, राष्ट्रिय बीउ ऐन तथा नीतिहरूको कार्यान्वयनमा सहयोग गर्न र मकैका नयाँ प्रजाति तथा प्रविधिहरूको विकास गर्न यो परियोजना तयार गरिएको हो,’ विज्ञप्तीमा जनाइएको छ।
पहाडी मकै अनुसन्धान परियोजना, चौथो चरण नामक परियोजनाको आर्थिक सहयोगलाई अन्तिम रुप दिनका लागि स्वीस सरकारले नेपाल सरकारसँग सोमबार अर्थ मन्त्रालयमा सहमति पत्रमा हस्ताक्षर गरेको थियो। युएसएआइडीको सहयोग भने नेपाल सरकारसँग विगतमा हस्ताक्षर गरिएको सहायता सम्झौता अन्तर्गत पर्दछ।
एस्डीसीले सन् १९९९ देखि पहाडी मकै अनुसन्धान परियोजनालाई सहयोग गर्दै आएको छ र चौथो चरणका लागि उसको सहयोग रकम ३६ लाख ५० हजार डलर रहेको छ। युएस्एआइडीले यसका लागि २० लाख डलर अनुदान प्रदान गर्दैछ।
परियोजना सुरु गरिने जिल्लामा ओखलढुङ्गा, खोटाङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, अछाम, डाटी, डडेलधुरा, बझाङ र बैतडी रहेका छन्।








