एमालेद्वारा प्रधानमन्त्री निर्वाचनका लागि अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाउने निर्णय

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार  एमालेले प्रधानमन्त्री निर्वाचनका लागि अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्दिय समितिको मंगलबारको बैठकले  बुधबारबाट संसदमा सुरु हुने प्रधानमन्त्री निर्वाचनका लागि अध्यक्षले उम्मेदवारी दिने निर्णय गरेको हो । खनालले उम्मेदवारी दिने बिषयमा नेता केपी ओलीले बैठकमा प्रस्तावको रुपमा राखेका थिए भने प्रधानमन्त्री तथा बरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गरेका थिए ।

बैकल्पिक केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार बैठकले उम्मेदवारी दिनु अघि पनि सहमतिका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । सहमत नभए अध्यक्षले उम्मेदवारी दिने र त्यसपछि मतदान नहुँदासम्म पनि अन्य दलसँग सहमतीय खोज्ने प्रयासलाई जारी राख्ने निर्णय बैठकले गरेको छ ।

बैठकको सुरुमै अध्यक्ष खनालले सहमतिका लागि यसअघि भएको प्रयास सफल हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री निर्वाचनमा पार्टीले उम्मेदवारी दिनुपर्ने धारणा राखेका थिए । त्यसपछि लगत्तै नेता केपी ओलीले बोल्ने समय मागेका थिए । ओलीले पार्टीमा विगतमा जे समस्या भए पनि मुलुकको राष्ट्रिय समस्या समाधान  एमालेले मात्र गर्न सक्ने भएकाले अध्यक्षले उम्मेदवारी दिनुपर्ने प्रस्ताव राखेका  पछि  बरिष्ठ नेता माधव नेपालले समर्थन गरेका थिए  । सहमतिका लागि अझै पनि अन्य दलसँगको वार्ता जारी राख्ने र त्यसका लागि सबै नेताले पहल गर्ने निर्णय पनि भएको छ ।