जापानी दूतावासको उच्चस्तरीय टोलीद्वारा माथिल्लो परियोजनाको अनुगमन

तनहुँ – तनहुँबाट प्राप्त समाचार अनुसार  नेपालस्थित जापानी दूतावासको एक उच्चस्तरीय प्रतिनिधि टोलीले तनहुँको व्यासनगरपालिका वडा नं ७ स्थित दुलेपहरामा निर्माण सुरु गरिएको माथिल्लो सेती जलविद्युत् आयोजनाको टनेल परीक्षण कार्यको अनुगमन गरेको छ ।


जापानी दूतावासका द्धितीय सेक्रेटरी यासुहिरो नोमुरोको नेतृत्वको तीन सदस्यीय टोलीले सुरुङ खन्ने कार्यको अनुगमन गरेको हो ।


नेपाल सरकारले जापान सरकारलाई जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगअन्तर्गत स्तरवृद्धि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रमअनुसार जाइकाका प्रतिनिधिसहितको जापानी उच्चस्तरीय टोलीले परियोजनाको अनुगमन गरेको हो ।


अनुगमनका क्रममा परियोजना आर्थिक, सामाजिक, वातावरणीय र प्राविधिक दृष्टिले उपयुक्त भएको विद्युत् प्राधिकरणले जनाएको छ ।


प्रारम्भिक अध्ययनअनुसार उक्त आयोजना सम्पन्न गर्न करिब रु २५ अर्ब २३ करोड लाग्ने अनुमान गरिएको छ ।
सेती नदीबाट करिब १४० मिटर उचाइमा बायाँपट्टकिो सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको ओभरसियर रमेश शाहीले बताउनुभयो ।


उहाँका अनुसार सुरुङभित्र दुई मिटर उचाइ २.५ मिटर चौडाइ र एकसय मिटर लामो सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको हो ।


चट्टान परीक्षणका लागि खनिएको सुरुङमा राम्रो चट्टान भेटिएको उहाँले जानकारी दिनुभयो । उक्त परियोजनाबाट १२७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।


एसियाली विकास बैंकले सो आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न रु १८ करोड अनुदान दिइसकेको बताइएको छ । अनुगमन टोलीलाई जलाशय क्षेत्रले प्रभाव पार्ने  क्षेत्रको जानकारी गराइएको थियो । प्रभावित गाविसहरुमा छाङ, भीमाद, माझकोट, रिसिङरानीपोखरी, जामुने र काँहु शिवपुर तथा व्यास ७ नगरपालिका रहेका छन् ।

हिमाल हाइट्रो जनरल कन्ट्रक्सन काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग ठेक्कामा लिएर सुरुङ खन्ने कार्य गरेको हो ।